Swornakshar Logo

विप्लव नेकपाद्वारा १२ वटा वडा कार्यालयमा तालाबन्दी

२२ असार । काठमाडौं । विप्लव निकट नेपाल कम्यूनिष्ट पार्टीले अछामका १२ वटा वडा कार्यालयमा तालाबन्दी गरेको छ । उक्त पार्टीको सेती महाकाली ब्यूरोका नाममा विभिन्न स्थानीय तहका वडाहरुमा तालाबन्दी गरिएको हो ।

मंगलसैन नगरपालिकाको वडा नम्बर १ कुन्ती र १३ बस्ती, ढकारी गाउँपालिकाको वडा नम्बर २ हिच्मा, तुर्माखाद गाउँपालिकाको वडा नम्बर २ भुलु र ७ तोषि, पञ्चदेवल बिनायक नगरपालिकाको कालेकाँडा, बाराला, लयाँटी र पुल्लेतोला तथा रामारोशन गाउँपालिकाको वडा नम्बर ३ शान्तडा, ४ बाटुलसैन र ६ भटाकाटियाका वडा कार्यालयमा तालाबन्दी गरिएको विप्लव समूह निकट स्रोतले जानकारी दिएको छ ।

मंगलसैन नगरपालिका– १ का वडाध्यक्ष गोपाल थापाले कार्यालयको ताला तोडेर छुट्टै ताला झुण्ड्याइएको जानकारी दिनुभएको छ । वडाध्यक्ष थापाले भने ‘वडा कार्यालयको ताला तोडेर नजिकै फालिएको छ, र अर्को ताला लगाइएको छ ।’ उनले भने ‘सँगै दलाल पूँजीवादी संसदीय व्यवस्था अन्त्य गरौँ, सामाजिक दलाल पूँजीवादी सरकार खारेज गरौं, नेपाल कम्युनिष्ट पार्टी सेती महाकाली ब्यूरो भनेर पर्चा टाँसिएको छ ।’

वडाध्यक्षको कार्यकक्ष रहेको कोठामा तालाबन्दी गरिएको रामारोशन–३ का अध्यक्ष ताराबहादुर साउदले बताए । ‘दलाल पूँजीवादी सरकारका विरुद्ध लगाइएको ताला खोलिएमा सम्बन्धित ब्याक्ति नै जिम्मावर हुनेछ’ भनेर धम्किपूर्ण रुपमा लेखिएको सन्देशसमेत भेटिएको अध्यक्ष साउदले बताए ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख जनकबहादुर अहिले विभिन्न वडा कार्यालयमा तालाबन्दी भएको खबर आइरहेको जानकारी बताए । उनका अनुसार ‘तालाबन्दी भएका वडामा प्रहरी पठाएर ताला खोल्ने तयारी भैरहेको छ ।’