Swornakshar Logo

बबरमहलमा स्कुटर र ट्याक्सी ठोकियो, एकको घटनास्थलमै मृत्यु

२१ असार । काठमाडौं । काठमाडौंको बबरमहलमा स्कुटर र ट्याक्सी एकआपसमा ठोक्किँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगाको सुनकोशी गाउँपालिका–८ का १९ वर्षीय दीपक थापा रहेका छन् ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डीएसपी कौशल कुमार बुढाथोकीले ट्याक्सी र स्कुटर एकआपसमा ठोक्किँदा ओखलढुंगाका दीपक थापाको मृत्यु भएको पुष्टि गरे ।

माइतीघरबाट बानेश्वर जाँदै गरेको बा८३प ४०३५ स्कुटी र बानेश्वरबाट माइतीघरतर्फ आउँदै गरेको बा २ ज ११८८ नं को ट्याक्सी काठमाडौं महानगरपालिका–११ स्थित बबरमहल सडकमा एकआपसमा ठोक्किएको डीएसपी बुढाथोकीले बताए ।

स्कुटर चालक काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० का रोहितसिंह ठकुरीको भने माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल उपचार भइरहेको छ ।

दुर्घटनापछि खोटाङ घर भएका ट्याक्सी चालक मिलन राई र ट्याक्सी प्रहरीको नियन्त्रणमा छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।