Swornakshar Logo

प्रचण्ड भन्छन्ः भट्टराई र विप्लव दुवै नेकपामा आउनुपर्छ

२० असार । काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल प्रचण्डले नेत्रविक्रम चन्द (विप्लव)ले हिँडेको बाटोबाट कही नपुगिने भन्दै नेकपामा फर्कन आह्वान गरेका छन् ।

उनले सबै एउटै कम्युनिस्ट पार्टीमा गोलबन्द हुनुपर्ने बताए । उनले भने, ‘विप्लवजी प्रचण्डले बाटो बिरायो कि भनेर जुन बाटो बनाउन थाल्नुभएको छ, त्यो बाटोले कहीँ कतै पुगिँदैन, यही पार्टीमा आउनुपर्छ ।’

पार्टी कार्यालय धुम्बाराहीमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले दुई पार्टी मिलेको प्रतिक्रियावादीलाई मन नपरेकाले अनावश्यक हल्ला फैलाउने र कतैबाट भत्काउन सकिन्छ कि भनेर कोसिस जारी राखेको बताए । उनले भने, ‘एकताले राम्रो भविष्यतर्फ जाने सम्भावना पनि छ र भत्कन सक्ने दोसाँधमा छौं । यसबाट बच्नुपर्छ ।’

सगरमाथाको चुचुरोबाट कम्युनिस्ट एकता भएको विश्वले देखेका छन् । यो प्रतिक्रियावादीले मन पराएका छैनन् । तर, विश्वका सर्वहाराका लागि राम्रो सन्देश गएको प्रचण्डको भनाइ थियो ।

उनले भने, ‘सोभियत संघ र पूर्वी यूरोपका कम्युनिस्ट सत्ता ढलेपछि रक्षात्मक रुपमा पुगेको कम्युनिस्ट आन्दोलन अहिले नेपालमा दुई तिहाइसहित सत्ता सञ्चालन गरिरहेको छ । यसले राम्रो सन्देश दिएको छ विश्वलाई ।’

‘नेपालमा शान्ति प्रक्रियामा आएको लामो समय हुँदा पनि केही मानिस खाटो बसेका घाउहरु कोट्याइरहेका छन्,’ उनले भने, ‘शान्ति प्रक्रिया भाँड्न केही मानिसलाई संसारभरि डुलाइरहेका छन् । फाइदा हुन्छ भनेर होला तर कसैलाई पनि फाइदा हुँदैन, देशलाई त झन् फाइदा हुँदैन ।’

उनले एकतामा आएका समाजवादी पार्टीका नेतालाई स्वागत गर्दै भने, ‘घरमा भएका सदस्यको त्यति माया लाग्दैन तर बिहानै घरबाट भागेर गएका र साँझ घर फर्केका सदस्यको धेरै माया लाग्छ । त्यही भएको छ ।’

प्रचण्डले बाबुराम भट्टराईलाई भने, ‘तपाईंको बौद्धिकता कम्युनिस्ट आन्दोलनका लागि आवश्यक छ, देशका लागि आवश्यक छ । हिजो हामीसँगै हुँदा पनि तपाईंको बौद्धिकताले काम धेरै गरेको हो । त्यसकारण, अझै पनि यही आउनुहोस्, सँगै मिलेर जाऔं ।’