फाइल तस्बिर
१८ असार । काठमाडौं । सर्लाही र महोत्तरीको घटनामा प्रहरीले दमन गरेको भन्दै मानव अधिकारको रक्षा गर्न राष्ट्रिय जनता पार्टी राष्ट्रिय मानव अधिकार आयोग पुगेको छ । बुधबार अपरान्ह राजपा अध्यक्ष मण्डलको टोलीले आयोगका अध्यक्ष अनुपराज शर्मालाई भेट गरी शान्तिपूर्ण विरोधमा जम्मा भएका नागरिकमाथि गोली चलाएर दमन गर्न खोजेको भन्दै मानव अधिकार रक्षाका लागि पहल गर्न आग्रह गरेको हो । गएको असार १५ गते पूर्व(पश्चिम राजमार्गको सर्लाही जिल्लाको बाँके चोकमा शान्तिपूर्ण विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा इश्वरपुर नगरपालिका १३ का २६ वर्षीय सरोज नारायण सिंहको मृत्यु भएको थियो । मृतक सिंहको टाउकोमा गोली लागेको थियो । प्रहरीले सामान्य बल प्रयोग गरेर नियन्त्रण गर्न सक्ने अवस्थामा पनि गोली नै चलाउनुले प्रहरीको मधेशी जनतालाई हेर्ने दृष्टिकोण नै खराब देखिएको राजपाले आरोप लगाएको छ ।
राजपा नेपालको ज्ञापनपत्र बुझ्दै आयोग अध्यक्ष शर्माले छानबिन आयोग गठन गर्न सरकारलाई दबाब दिनुपर्ने बताए । पछिल्ला केही घटनामा शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गर्न थालेको भन्दै शर्माले दबाब नदिए सरकारले यस्ता गतिविधि नरोक्ने उनको भनाइ थियो ।
सर्लाही र महोत्तरीको सीमामा रहेको बाँके नदीमा बालुवा गिट्टी निकाल्न खनेको खाल्डोमा डुबेर स्थानीय बालक १२ वर्षीय अमृत रायको मृत्यु भएको थियो । मृतकका परिवार र गाउलेले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग राख्दै गरिएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा सरोज सिंहको टाउकोमा गोली लागेको थियो ।


प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…