Swornakshar Logo

निर्मला हत्या प्रकरणः एसपीसहित ३ प्रहरी अधिकारीविरुद्ध जाहेरी लिन अस्वीकार

६ असार । कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणसँग जोडेर एसपीसहित तीन जनाविरुद्ध यातना अभियोगमा जाहेरी दर्ता गर्न कञ्चनपुर प्रहरीले अस्वीकार गरेको छ ।

निर्मला हत्या प्रकरणमा पक्राउ परेका विशाल चौधरीलाई यातना दिएको अभियोगमा उनीहरुविरुद्ध जाहेरी दर्ता गरी अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालयले दिएको निर्देशन जिप्रका कञ्चनपुरले अस्वीकार गरेको होे ।

निर्मला हत्यालगत्तै पक्राउ परेर २२ दिनसम्म हिरासतमा राखिएका विशाल चौधरीको जाहेरीका आधारमा उनीहरुविरुद्ध मुद्दा चलाउने तयारी भएको थियो ।

चौधरीले पाँच जनाविरुद्ध यातना अभियोगमा दिएको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दर्ता गर्न इन्कार गर्दै आएको थियो । तर, कञ्चनपुरको जिल्ला सरकारी वकिल कार्यालयले पाँच जना प्रहरी अधिकारीविरूद्ध यातना अभियोगमा किटानी जाहेरी दर्ता गरी अनुसन्धान थाल्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई निर्देशन दियो ।

आज सरकारी वकिल कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई उजुरी दर्ता गरी अनुसन्धान थाल्न निर्देशन दिए पनि हदम्यादको प्रश्न उठाउँदै प्रहरीले दर्ता अस्वीकार गरेको हो ।

यातनाविरूद्ध उजुरी दिने ६ महिने हदम्याद आजै सकिँदै थियो । हदम्याद सकिने अन्तिम दिन सरकारी वकिलले जाहेरी दर्ता गर्न निर्देशनसहितको पत्र पठाए पनि प्रहरीले भने १५ मिनेट ढिला भएको भन्दै जाहेरी दर्ता गरेन ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डीएसपी ज्ञानबहादुर विष्टका अनुसार हदम्यादभन्दा १५ मिनेट ढिला जाहेरीको पत्र आएका कारण जाहेरी दर्ता हुन नसकेको हो ।

जाहेरीवाला चौधरी आज ३ बजेर १५ मिनेट जाँदा जिल्ला प्रहरी कार्यालय पुगेका थिए । उनी हिजो पनि उजुरी लिएर जिप्रका पुगेका थिए । तर, प्रहरीले उजुरी दर्ता गरिदिएन ।

उनले तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख दिल्लीराज विष्टको ठाउँमा गएका एसपी कुँवेर कठायत, तत्कालीन कञ्चनपुर प्रहरी कार्यालयका डीएसपी कृष्ण ओझा र प्रहरी प्रधान कार्यालयले निर्मला हत्या अनुसन्धानका लागि कञ्चनपुर पठाइएका एसपी दुर्गा सिंहविरूद्ध हिरासतमा यातना दिएको अभियोगमा जाहेरी दिएका थिए ।

कठायत र ओझा हाल प्रहरी हेडक्वार्टरमा कार्यरत छन् भने दुर्गा सिंह ललितपुर प्रहरी परिसरमा कार्यरत छन् ।

चौधरीलाई निर्मलाको बलात्कार र हत्या अभियोगको सिलसिलामा पक्राउ परी २२ दिनसम्म थुना बसेर छुटेका व्यक्ति हुन् । उनले आफूलाई कञ्चनपुर र काठमाडौंको सीआईबी अफिसमा सोधपुछ र अनुसन्धानको नाममा चर्को यातना दिएको दाबी गर्दै आएका छन् ।

चौधरीमाथि आईजीपीसहितको सीआईबी टोलीले अनुसन्धान गरेको थियो । गत ११ साउनमा निर्मलाको बलात्कार पछि हत्या गरिएको थियो ।