Swornakshar Logo

नेपालमा लागुऔषध प्रयोगकर्ता बर्सेनि बढ्दै

जेठ २८। काठमाण्डौ । नेपालमा लागुऔषध प्रयोगकर्ता बर्सेनि ११ प्रतिशतका दरले बढ्ने गरेको पाइएको छ ।

२०७४ सालमै सार्वजनिक हुनुपर्ने अध्ययन प्रतिवेदन सार्वजनिक नहुँदा लागुऔषध प्रयोगकर्ताको यकिन तथ्याङक नभए पनि अहिले देशभर झण्डै १ लाख ५६ हजार जना लागुऔषध प्रयोगकर्ता रहेको गृह मन्त्रालयको अनुमान रहेको मन्त्रालयको लागुऔषध नियन्त्रण महाशाखाका प्रमुख नारायणप्रसाद दुवाडीले बताउनुभयो ।

२०६३ सालमा गरिएको सर्वेक्षणमा ४६ जना लागुऔषध प्रयोगकर्ता रहेकोमा २०६९ मा ९१ हजार ५ पुगेको तथ्याङक छ । ५(६ वर्षमा अध्ययन प्रतिवेदन सार्वजनिक हुनुपर्ने भए पनि हुन नसकेको र मन्त्रालयले यसै वर्ष प्रतिवेदन सार्वजनिक गर्नेगरी तयारी अन्तिम चरणमा रहेको पनि उहाँले जानकारी दिनुभयो ।

जिल्लागत सर्वेक्षणपछि अहिले तथ्याङक संकलनको काम भैरहेको छ । गृह मन्त्रालयका अनुसार लागुऔषध दुर्व्यसनीमध्ये ५७ प्रतिशतले सुईका माध्यमबाट प्रयोग गर्ने गरेका छन् । नेपालमा बर्सेनि जुन २६ मा लागू औषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ ।

यो वर्ष पनि जनचेतनामा केन्द्रित गरी सप्ताहव्यापी रुपमा कार्यक्रम गर्ने दुवाडीले बताउनुभयो । लागुऔषध र यसका प्रयोगकर्ताको अवस्था, सरोकारवाला निकायको नियमन र अनुगमनका काम प्रभावकारी बनाउन आवश्यक देखिएको भन्दै उहाँले मन्त्रालयले तयारीसमेत गरिरहेको बताउनुभयो ।