Swornakshar Logo

शौचालय भत्किँदा ४ बालबालिकाको मृत्यु

२८ जेठ । दार्चुला । दार्चुलामा शौचालय भत्किँदा ४ बालबालिकाको मृत्यु भएको छ ।

नौगाड गाउँपालिका–४ सिप्टीमाको गणेशविनायक माविको शौचालयको छाना भत्किँदा विद्यालयमा अध्ययनरत ४ बालबालिकाको मृत्यु भएको प्रहरी चौकी सिप्टीका प्रहरी सहायक निरीक्षक देवदत्त भट्टले जानकारी दिए ।

विद्यालय बन्द रहेको समयमा मंगलबार साढे ४ बजेतिर शौचालयको छतमा खेल्दा ५ देखि ९ वर्षसम्मका बालबालिकाको मृत्यु भएको हो । शौचालयको छतले पुरिएको अवस्थामा ४ बालबालिकाको शव निकालिएको प्रहरीले बताए ।

ज्यान गुमाउनेमा अन्दाजी ८ वर्षकी निरुता ठगुन्ना, १० वर्षकी अनुष्का धामी, ५ वर्षकी युनिका ठगुन्ना र ९ वर्षका सुदिश धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

अझै अन्य शवपनि फसेको हुन सक्ने भन्दै प्रहरी टोली तथा स्थानीयले उद्धार कार्य जारी राखेका छन् ।