Swornakshar Logo

च्याउ खाँदा ११ जना बिरामी, दुई जनाको अवस्था चिन्ताजनक

जेठ २५। नवलपरासी । सीमा जोडिएको पाल्पाको निस्दि गाउँपालिकाको सार्की डाँडाका ११ जना जंगली च्याउ खाँदा बिरामी परेका छन् ।

शुक्रबार साँझ जंगलबाट ल्याएको च्याउ खाएपछि समय समयमा रिंगटा लाग्ने, बान्ता हुने भएपछि उनीहरुलाई उपचारका लागि मध्यबिन्दु जिल्ला अस्पताल कावासोती ल्याइएको छ । च्याउ खाएर बिरामी हुनेमा एकै घरका ५ जना सहित ११ जना छन् । बिरामी भएकामध्ये दुई जना बालिकाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

बिरामी पर्नेहरुमा ४५ वर्षका पुरन खाम्चा, उनकी श्रीमती ४० वर्षकी चन्द्री खाम्चा, १५ वर्षकी छोरी निर्मला खाम्चा रहेका छन् । त्यस्तै ८१ वर्षका प्रेम बहादुर सिंह ठकुरी, उनकी ३० वर्षकी बुहारी दान कुमारी सिंह र सात वर्षका नाति सुमन सिंह ठकुरी छन् ।

एकै घरका बिरामी पर्नेहरुमा धन कुमारी सिंह ठकुरी, निरुता सिंह ठकुरी, १० वर्षकी निशा सिंह ठकुरी, आठ वर्षकी निर्मला सिंह ठकुरी र चार वर्षकी विष्णु सिंह ठकुरी रहेका छन् ।

अवस्था चिन्ताजनक रहेका दुई बालिकालाई थप उपचारका लागि भरतपुर रिफर गरिएको र अन्य बिरामीहरुको मध्यबिन्दु जिल्ला अस्पतालमा उपचार भैरहेको डा। राजभक्त महर्जनले बताउनुभयो । अस्पतालमा शैयाको अभावले गर्दा बिरामीहरुको भुइँमा नै राखेर उपचार भैरहेको छ ।