Swornakshar Logo

कैलाली कञ्चनपुरमा हावाहुरीको वितन्डा २१ जना घाइते

२३ जेठ । धनगढी । पश्चिम तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका कारण ठूलो जनधनको क्षति पुगेको छ ।

स्थानीय घाइते हुनुका साथै केही सवारी साधन समेत हावाले उडाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार सेती अञ्चल अस्पतालमा हावाहुरीका कारण ११ जना भन्दा बढी घाइते भएका छन् ।

धनगढीसँगै जोडिएको डोकेबजारमा हावाहुरीले उडाएको ग २ प ८७२० नम्बरको पिकअप महिन्द्रा जीपका चालक र सहचालक दुबैजना घाइते छन् । कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरी नेतृत्वको प्रहरी टोलीले दुबैजनाको उद्धार गरी सेती अञ्चल अस्पताल पुर्याएको छ ।

कञ्चनपुर प्रहरीले सातजना भन्दा बढी घाइते महाकाली अञ्चल अस्पतालमा पुगेको जनाएको छ । हावाहुरीले कैलाली र कञ्चनपुरका सैयौं घरका छाना उडाएको छ भने पक्की घरको छतमा जाने बाटोको जस्ताहरु उडाएको छ ।

स्थानीयहरु पूर्वी तराईको बाराको जस्तै हावाहुरी आएको बताउँछन् । कैलाली, कञ्चनपुरमा बिहीबार बेलुकी ८ बजेदेखि झण्डै ४० मिनेट जति आएको भयानक हावाहुरी अहिलेसम्मकै ठूलो भएको स्थानीयहरुको दावी छ ।

कैलाली र कञ्चनपुरमा दर्जनौं विद्युतका पोलहरु ढलाएकाले विद्युत् आपुर्ती बन्द भएको छ भने नेपाल टेलिकमका पोलहरुमा पनि क्षति पुगेपछि केही स्थानको फोन सेवा समेत अवरुद्ध भएको छ । कैलाली प्रहरीेले मानिसहरु रुख ढलेर च्यापिएको खबर आए पनि त्यहाँ जाने सडकमा दर्जनौं रुखहरु ढलेकाले जान नसकेको जनाएको छ ।

‘हामीलाई धेरै ठाउँबाट रुखहरु ढलेर मानिसहरु च्यपिएको खबर आइरहेको छ, तर जान खोज्दा बाटो अवरुद्ध छ’ कैलालीका एसपी सुदीप गिरिले भने । उनले कैलालीभरका सबै प्रहरीलाई मानवीय उद्धारमा खटाएको बताए । ‘म आफैँ पनि फील्डमा छु, सबै प्रहरीलाई उद्धारमा खटिन निर्देशन दिएको छु’ एसपी गिरिले भने । कैलाली र कञ्चनपुरमा अहिलसम्मकै ठूलो बेगको हावाहुरी आएको अनुमान गरिएको छ ।