Swornakshar Logo

६ दशकमा पशुपतिनाथ मन्दिरको आम्दानी ९ किलो सुन

२२ जेठ । काठमाडौ । विश्वभरका हिन्दुको पवित्र तीर्थस्थल पशुपतिनाथ मन्दिर परिसरको आम्दानीबारे धेरैले चाख लिन्छन् । तर पशुपतिनाथ मन्दिरको आम्दानीबारेको एउटा छानबिन समितिको प्रतिवेदनले भने सबैलाई आश्चर्यमा पार्छ ।

प्रतिवेदनका अनुसार पशुपतिनाथ मन्दिरले ५७ वर्षको अवधिमा जम्मा ९ किलो सुन आम्दानी गरेको छ । २०१९ सालयता पशुपतिनाथ मन्दिरमा ९ किलो २ सय ७६ दशमलव ६४ ग्राम सुन जम्मा भएको छ ।

समितिका अनुसार सो विवरण २०१९ सालदेखि २०७५ सालसम्मको हो ।

पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानबिन समितिले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा पशुपतिनाथ मन्दिरमा २०७५ सालसम्ममा सो परिमाणको सुन जम्मा भएको उल्लेख गरिएको हो ।

समितिका संयोजक तथा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मिलनकुमार थापाले २०१९ सालअघि विवरण भने प्राप्त हुन नसकेको बताए ।

मन्दिरमा ३ सय १६ किलो ५ सय ८६ ग्राम चाँदी रहेको पाइएको छानबीन समितिका संयोजक डा। थापाले जानकारी दिए । पशुपतिनाथ मन्दिरमा हालसम्म १ अर्ब २९ करोड ३८ लाख ३१ हजार नगद जम्मा गरिएको छ । छानबिन समितिका अनुसार त्यसमध्ये १ अर्बको अक्षय कोष स्थापना गरी सामाजिक सेवाको क्षेत्र तथा विपद् व्यवस्थापनमा खर्च गर्ने गरिएको छ ।

समितिका संयोजक थापाले हाल मन्दिरको दर्ता प्रमाणित भएको जग्गा ३ हजार ६ सय ६७ रोपनी ४ आना ३ पैसा रहेको पनि जानकारी दिए । प्रतिवेदनमा पशुपतिनाथ मन्दिरको दर्ता प्रमाणित हुन बाँकी रहेको जग्गा २ सय ३१ रोपनी १० आना १ दाम रहेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।