Swornakshar Logo

विकासको नयाँ मोडल अघि नबढाए मुलुक सङ्कटमाः प्रचण्ड

३१ बैशाख । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रणालीअनुरुप नीतिनियम र विकास ढाँचा परिमार्जनको खाँचो रहेको बताए।

ललितपुरमा आजदेखि शुरु भएको अन्तर्राष्ट्रिय प्राङ्गारिक कृषि सम्मेलनको उद्घाटन गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको विकासको नयाँ ढाँचा अघि नबढाए मुलुक सङ्कटमा फस्न सक्ने खतरा रहेको बताए। उनले राजनीतिक प्रणालीलाई गुणात्मक ढङ्गले नयाँ बनाउने नेपाली जनताको चाहनालाई सम्बोधन गर्न राज्यका संरचना, ऐन, कानून, कार्यविधि र विकासका ढाँचा समाजवादउन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानको मर्म र भावनाअनुसार निर्देशित हुन जरुरी रहेको बताए ।

अध्यक्ष दाहालले भने, “हामीले त्यस्तो ढाँचा पत्ता लगाउन जरुरी छ, जुन ढाँचा नेपालको भौगोलिक, जातीय र सांस्कृतिक विविधता तथा परम्परासँग मिल्दोजुल्दो छ र आधुनिकताका ती पक्ष समेट्दै समाजलाई अग्रगति दिँदै समाजलाई समृद्ध बनाउने प्रविधिको प्रयोग गरेर लैजान आवश्यक छ ।” अध्यक्ष प्रचण्डले भने “अहिलेको विश्वमा मानव जातिले जे–जस्ता समस्या भोेगेको छ, तीे विकासको ढाँचाबाट पैदा भएका विभिन्न किसिमका नकारात्मक परिणतिहरु हुन् ।” जलवायु परिवर्तनबाट पैदा भएका समस्या, भूमण्डलीय तापक्रम वृद्धिका समस्या पनि विकासको मोडलका कारण भएको उनको भनार्इ थियो ।

उनले भने “विकासको कुन मोडल अपनाउने भन्ने कुरा महत्वपूर्ण छ । मैले भनेको संसारमा वर्षौं चलेको पूँजीवादी ढाँचाको विकासतर्फ हामी जाने हो कि समाजवादी ढाँचातिर अगाडि जाने हो । यी दुई ढाँचा मात्र अहिले विश्वमा देखिएका छन् । मानव समाज नै पूँजीवादीको दबाबमा छ । हामीले जे–जस्ता समस्या भोगेका छौँ, ती पूँजीवादका कारण भएको हो । उनीहरुले मानव जातिलाई शिक्षा, स्वास्थ्य र विकास निर्माणको नमूनाका क्षेत्रमा हामी समस्या नै समस्याग्रस्त हुँदै जाँदा पृथ्वी नै नष्ट हुने स्थिति बनेको छ ।”

अबका केही समयपछि राष्ट्रको गौरवमय परम्परा र समाज नै विघटन हुने खतरा बढेर गएको औँल्याउँदै उनले आत्मनिर्भर, दिगो विकास र विकासको मौलिक मोडल निर्माण गर्न ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । आफूले कृषि विषयको शिक्षकका रुपमा गोरखाको आरुघाटमा कार्यरत रहँदा किसानलाई प्राङ्गारिक खेती प्रणाली र प्राङ्गारिक मल उत्पादन गर्ने तौरतरिका सिकाएको स्मरण गर्दै प्रचण्डले अबको यात्रा प्राङ्गारिक कृषिका क्षेत्रमा हुनुपर्ने बताए । उनले मानव स्वास्थ्यलाई प्रतिकूल हुने कुनै पनि खालको कृषि उत्पादनलाई निस्तेज पारेर प्राङ्गारिक कृषि बाली उत्पादनमा जोड दिन ठोस योजना तय गर्न सम्मलेन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

दुई दिनसम्म चल्ने सम्मेलनले कृषि क्षेत्रको भावी विकासको रणनीति र मोडल तय गर्नेछ ।