Swornakshar Logo

इन्जिनियरलाई ज्यान मार्ने धम्की दिने तिमिल्सिनाविरुद्ध गृहमन्त्रीलाई ज्ञापनपत्र

३० बैशाख । काठमाडौं । इन्जिनियर एशोसिएसन ३ नं. प्रदेश कार्यकारिणी समितिलले अछाम जिल्ला समन्वय समिति सदस्य बेदप्रकाश तिमिल्सिनालाई गिरफ्तारीको माग गरेको छ ।

अछामको पूर्वाधार विकास कार्यालय साँफेबगरमा कार्यरत निमित्त प्रमुख इन्जिनियर जंगबहादुर थापालाई ज्यान मार्ने धम्कीसहित अश्लील शब्दमा गालीगलोज गरेको भन्दै कार्यकारिणी समितिले सोमबार गृहमन्त्री समक्ष ज्ञापनपत्र बुझाएको छ ।

समितिले तिमिल्सिनालाई तत्काल गिरफ्तार गरी तत्काल कारबाहीको माग गर्दै गृहमन्त्री रामबहादुर थापा समक्ष ज्ञापन पत्र बुझाएको हो । समितिका सभापति नन्दलाल बन्जाडेले इन्जिनियरहरूमाथि यस प्रकारको घटना श्रृखंलाबद्ध रुपमा भइरहेको र यसअघि पनि सिन्धुली तथा सिन्धुपाल्चोकमा समेत इन्जिनियर कुटिएको जानकारी गराएका थिए । साथै उनले इन्जिनियरको ज्यान लिने धम्की दिएका तिमिल्सिनालाई तत्काल गिरफ्तार गरी कानुनी कारबाही नगरे आफ्नो सुरक्षाका लागि एसोसिएसन गम्भीर कदम चाल्न बाध्य हुने बताए ।

अछाममा इन्जिनियरमाथि ज्यान मार्ने धम्की आएको विषयमा आफूले निर्देशन समेत दिइसकेको बताए । ‘अछाममा इन्जिनियरलाई जनप्रतिनिधिले ज्यान मार्ने धम्की दिएको विषय त्यहाँ सांसदले पनि अवगत गराउनुभएको थियो,’ गृहमन्त्री थापाले भने,‘मैले आवश्यक निर्देशन दिइसकेको छु । थप अनुसन्धान गर्ने काम हुन्छ । सरकार नागरिकको जीउधनको सुुरक्षाका लागि सदा संवेदनशील र प्रतिबद्ध छ।’
झोलुंगे पुल उपभोक्ता समितिसँग गरिएको सम्झौतासँग सम्बन्धित विषयलाई लिएर सदस्य तिमिल्सिनाले इन्जिनियर थापालाई काट्ने, मार्ने धम्की दिँदै अश्लील शब्दले गाली गरेका थिए ।

उनले आफूले भने बमोजिम नभएपछि इन्जिनियरलाई तथानाम गालीगलौज गरेको अडियो अहिले पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तिमिल्सिना अछाम पत्रकार महासंघका पूर्व अध्यक्षसमेत हुन् ।