Bagmati Samachar Logo

टीकापुर घटनामा जन्मकैदको फैसला सुनाइएका १२ जनाको जेल मुक्तिका लागि आन्दोलनको घोषणा

बैशाख २७ । राजविराज । टीकापुर घटनामा दोषी ठहर गरी जन्मकैदको फैसला सुनाइएका रेशम चौधरीलगायत अन्य ११ जनाको जेल मुक्तिका लागि आन्दोलन घोषणा गरिएको छ । राजविराजमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी ‘माननीय रेशम चौधरी बचाऔं अभियान संघर्ष समिति’ले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

राज थारुको संयोजकत्वमा १ सय १ सदस्यीय संघर्ष समिति गठन गरिएको छ । संयोजक थारुका अनुसार भेलाले रेशम चौधरी बचाऔं अभियान, सरोकारवालाहरुसँग टिकापुर घटनाका विषयमा ध्यानाकर्षण तथा प्रदेश स्तरीय तथा काठमाडौं केन्द्रित जनसभा र अन्य दबाबमूलक आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

संयोजक थारुले थरुहट आन्दोलनलाई विशुद्ध आतंककारी घटनाका रुपमा हेरेर आन्दोलनकारीलाई आजीवन कैदको सजाय सुनाइएको हुनाले आन्दोलनमा जानुको विकल्प नभएको पनि बताए ।