Swornakshar Logo

तत्काल कालोपत्रको माग गर्दै स्थानीयले गरे बौद्ध सडक बन्द

लामो समयदेखि निर्माणाधीन चाबहिल–साँखु सडकखण्ड कालोपत्र नहुँदा मारमा परेका बौद्ध व्यापार सङ्घ र स्थानीयवासीले यातायात अवरूद्ध पारेका छन्।पाँच सयको सङ्ख्यामा रहेका स्थानीयवासी तथा व्यापारीले बिहान ८ बजेदेखि गरेका साङ्केतिक विरोध कार्यक्रमका कारण सडक अस्तव्यस्त भएको छ।

आन्दोलनमा उत्रिएका स्थानीयवासीको एउटै माग छ चाबहिल–साँखु सडकखण्ड तत्काल कालोपत्र गरी धूँवाधुलोबाट मुक्त हुनुपर्‍यो ।आफूहरूले साङ्केतिक विरोध कार्यक्रममात्र गरेको र भोलिका दिनमा थप कडा आन्दोलनसहित प्रस्तुत हुने व्यापारीले बताए।

सरकारले विसं २०७२ मा चावहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणको लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो ।

कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडकको विस्तारको जिम्मा पाएका थिए । तर अहिलेसम्म उक्त सडकखण्डले पूर्णता पाउन सकेको छैन ।