Swornakshar Logo

प्रदेश १ को राजधानी विराटनगर, विपक्षमा मत परेन, नाम तय हुन बाँकी

२३ बैशाख । विराटनगर । प्रदेश नं. १ को स्थायी राजधानी विराटनगर हुने भएको छ । प्रदेश नं.१ को प्रदेशसभामा सोमबार भएको मतदानपछि विराटनगर राजधानी हुने टुंगो लागेको हो । नेकपाको तर्फबाट प्रमुख सचेतक बुद्धिकुमार भण्डारीले राखेको प्रस्तावमा दुईतिहाइ मत विराटनगरको पक्षमा खसेको थियो ।

जम्मा ९३ मध्ये ८६ मत प्राप्त विराटनगर राजधानी बनाउने पक्षमा थियो । प्रदेशको नाम भने टुंगो लागेको छैन । प्रदेश सरकारले केही अघि सदनबाट पारित गरेको विराट बृहत क्षेत्रको विराटनगर, इटहरी र सुन्दर हरैँचामा व्यवस्थापिका तथा कार्पालिकाका संरचना रहनेछन् भन्‍ने प्रस्ताव दुई तिहाईले पारित गरेको छ । यसअघि विराटनगर र धनकुटालाई सदरमुकामा तोक्न प्रदेशसभामा चारवटा प्रस्ताव दर्ताका भएका थिए ।

प्रदेशसभा सदस्यहरु नेपाली कांग्रेसका ज्योति सुब्बा, प्रतापप्रकाश हाङगाम , अगमलाल चौधरी ,नेकपाका गणेश काङमाङ , समाजवादीका रामचन्द्र लिम्बु , र राधा थापा अनुपस्थित थिए ।

नेकपाले विराटनगर स्थायी राजधानी, कार्यपालिका व्यवस्थापिका लगायत अन्य संरचना वृहत विराट क्षेत्र अन्तर्गत विराटनगर, इटहर र सुन्दरहैंचा क्षेत्र आसपासमा रहनेछ भन्ने बेहोरोसहितको प्रस्ताव दर्ता गरेको थियो । नेकपाको तर्फबाट प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रस्ताव दर्ता गराएका छन् । यसको समर्थक लिलम बस्नेत, राजकुमार ओझा, यशोदा अधिकारी र विजयकुमार विश्वास थिए ।

नेकपाले प्रदेश संरचना छर्ने गरी राजधानी दर्ता गराएको भन्दै कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले विराटनगर स्थायी राजधानी हुनुपर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा संघीय समाजवादी फोरमका जयराम यादव र कांग्रेसका शिवनारायण गन्गाईले समर्थन गरेका थिए ।

धनकुटा राजधानी प्रस्ताव गर्दै कांग्रेसकी लीला सुब्बाले दर्ता गराएको प्रस्तावको समर्थकमा कांग्रेसका प्रकाशप्रताप हाङ्गाम र रामचन्द्र लिम्बू समर्थक थिए । नेकपाकै निरन राईले दर्ता गरेको धनकुटा राजधानीको प्रस्तावमा नेकपाका इन्द्रमणि पराजुली र कुसुमकुमारी श्रेष्ठ समर्थक थिए ।

धनकुटासँग सम्बन्धित प्रस्ताव पार्टीको निर्देशनपछि प्रस्तावक सांसदले फिर्ता लिएका थिए । कांग्रेसले हालेको राजधानीसँग सम्बन्धित प्रस्ताव भने प्रमुख सचेतक केदार कार्कीले प्रदेशसभामा फिर्ता लिए ।