Swornakshar Logo

बालुवाटारको जग्गा सरकारले प्रतिरोपनी तीन हजार एक सय २४ रुपैयाँका दरले लिने खुलासा

२१ वैशाख । काठमाडौँ । व्यक्तिको नाममा सारिएको बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगैको जग्गा सरकारले प्रतिरोपनी तीन हजार एक सय २४ रुपैयाँका दरले अधिग्रहण गरेको खुलेको छ। सुवर्णशमशेरका छोरानातिले भने सो जग्गा जफत गरिएको दाबी गरेका छन्। तर, अनुसन्धानमा आबद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले जग्गा अधिग्रहण गरेको प्रमाण भेटिसकिएको बताएका छन् ।

‘मुआब्जा लिन त्यतिवेला पाँचपटकसम्म गोरखापत्रमा सूचना प्रकाशित भएको देखिन्छ,’ अनुसन्धानमा आबद्ध एक अधिकारीले भने, ‘त्यतिवेला अधिग्रहण गरिएको प्रशस्त प्रमाण छन्।’

०२१ मा बालुवाटारस्थित दुई सय ९९ रोपनी जग्गा सरकारले अधिग्रहण गरेको थियो। त्यसमध्ये १४ रोपनी ११ आना जग्गा १० साउन ०२२ मा सुवर्णशमशेरका छोरा कनकशमशेरलाई फिर्ता गरिएको थियो। कनकशमशेरले आफू बिचल्लीमा परेको भन्दै राजा महेन्द्रलाई बिन्ती चढाएपछि जुन दरमा अधिग्रहण गरिएको हो, त्यही दरमा फिर्ता दिने निर्णय सरकारले गरेको थियो।

जसअनुसार ४५ हजार आठ सय ८२ रुपैयाँ ६७ पैसा तिरेर उनले १४ रोपनी ११ आना जग्गा फिर्ता लिएका थिए। सो जग्गा अधिग्रहण भएको पुष्टि गर्न यही प्रमाण हुने अख्तियार र सिआइबीका अधिकारीहरूले बताए ।