Swornakshar Logo

राष्ट्रपतिलाई ‘मेरो सरकार’ भन्ने रहर रहेछः सभापति देउवा

२० वैशाख । काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही पनि नभएको टिप्पणी गरेका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममा आश्वासन बाहेक अरु केही पनि नभएको प्रारम्भिक प्रतिक्रिया दिएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले अघिल्लो वर्षकै निरन्तरता बाहेक सरकारले आफ्नो नीति तथा कार्यक्रम केही थप उल्लेख गर्न नसकेको देउवाले बताए ।

सभापति देउवाले राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नुको साटो ‘नेपाल सरकार’ भनेको भए उपयुक्त हुने धारणा पनि राखे । राष्ट्रपतिलाई ‘मेरो सरकार’ भन्ने रहर रहेको आफूलाई अनुभूति भएको सभापति देउवाको भनाई छ ।

त्यसैगरी काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भनेकोमा आपत्ति जनाए । उनले सरकारको नीति तथा कार्यक्रमले जनतालाई राहत नदिने दावी पनि गरे ।

प्रमुख सचेतक खाँडले सरकारको नीति तथा कार्यक्रममा घोषित कार्यक्रमलाई कार्यान्वयनमा लैजाने योजना नभएको दावी समेत गरे ।