Bagmati Samachar Logo

जाजरकोटमा अनुदानकै चामल बाटोमा बिक्री

वैशाख १९। जाजरकोट । नेपाल खाद्य संस्थान सर्मी डिपोका लागि पठाएको चामल बाटोमै बिक्री भएको छ ।स्थानबाट मुड्केचुला गाउँपालिका–७ सर्मीस्थित डिपोका लागि ल्याउँदै गरेको खाद्यान्न रुकुमको आठबिसकोट नगरपालिका–४ त्रिवेणीमा बिक्री भएको खुलासा भएको हो । त्रिवेणी जाजरकोट, डोल्पा र रुकुमबीच सिमानामा पर्दछ । सर्मी डिपो ल्याउने चामल बाटोमै बिक्री भएपछि स्थानीयवासीले खाद्यान्न नपाएको बताएका छन् ।

सरकारले अनुदानमा उपलब्ध गराउँदै आएको उक्त चामल ठेक्कामार्फत डिपोमा बर्षेनी ल्याउने गरिन्छ । बिसी ट्रेडर्स सल्यानका जनक बुढाले ठेक्कामार्फत ढुवानी गरेको एक हजार क्विन्टल चामल सर्मी खाद्यान्न डिपोमा नलगिएर रुकुमको त्रिवेणीमा बिक्री गरेको बताए ।

सर्मी डिपोका कर्मचारी मुकुन्द पनेरुको उपस्थितिमा उक्त परिणामको चामल त्रिवेणीमा बिक्री भएको खाद्य संस्थान डोल्पाका प्रमख कमलराज पाण्डेले स्वीकार गरे । यो वर्ष सर्मी डिपोका लागि दुई हजार क्विन्टल खाद्यान्न निर्धारण गरिएको छ । बाटोमै वितरण भएको चामल रुकुम आठबिसकोट नगरपालिका त्रिवेणीका स्थानीयवासीले खरीद गरेर लिएका छन् ।

सहुलियको चामल बाटामै बिक्री गर्दा मुड्केचुलाका स्थानीयवासीले अहिलेसम्म चामल नपाएको बताएका छन् । सर्मी डिपोमा एक गेडा चामल नभएको प्रमुख पाण्डेले बताए । कर्मचारी, वडा १, २ र ३ का वडाध्यक्ष र ठेकेदारको मिलेमतोमा चामल बिक्री भएको बताइएको छ ।

तुल्सीपुरबाट ढुवानी गरेर ल्याएको खाद्यान्न त्रिवेणीमा बिक्री भएको छ भने जुम्ला र सुर्खेतबाट आउने एक हजार क्विन्टल चामल अहिलेसम्म सर्मी डिपोमा आइपुगेको छैन । यता मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बाटोमै चामल बिक्री गर्ने कर्मचारी र ढुवानी गर्ने ठेकेदारलाई कारवाहीको माग गरे ।

उनले भने “मुड्केचुलाका जनताले चामल नपाएर हैरान छन्, उता भने बाटोमा बिक्री गरेर के गर्न खोजेको हो ” वर्षेनी यहाँ उपलब्ध गराउँदै आएको चामल बाटोमै बिक्री–वितरण हुने गरेको अध्यक्ष शाहीले बताए । अहिले सर्मी डिपोमा खाद्यान्नका लागि दैनिक स्थानीयवासी पुगे पनि चामल नहुँदा रित्तो हात फर्कनु परेको छ । फोनको सहज पहुँच नभएको मुड्केचुला गाउँपालिकामा कामभन्दा पनि ढाँटेर खाने प्रवृत्ति देखिएको स्थानीयवासीको गुनासो छ ।