Swornakshar Logo

हावाहुरीले छानो उडाउँदा पर्वतका दर्जन विद्यालयमा क्षति

वैशाख १९। पर्वत । बुधबार दिउँसो एक्कासी आएको ठूलो हावाहुरीका कारण पर्वतका विभिन्न स्थानीय तहमा सञ्चालित दर्जन विद्यालयमा क्षति पुर्‍याएको छ ।

विद्यालयको छानो उडाउँदा बालबालिकाको पढाइ प्रभावित बनेको छ । हावाहुरीका कारण पर्वतको कुश्मा नगरपालिका(१२, ठूलीपोखरीमा रहेको जनज्योति प्राविको चार कोठे भवनको पुरै छाना उडाएको छ भने मोदी गाउँपालिका २ देउपुरमा सञ्चालित जननेत्र मावि, कुश्मा नगरपालिका १४ आर्थर डाँडाखर्कमा सञ्चालित एउटा प्राथमिक विद्यालयलगायत विभिन्न स्थानका विद्यालयहरुमा क्षति पुगेको छ ।

बुधवार अन्तराष्ट्रिय श्रमिक दिवसका कारण विद्यालय बन्द रहेका कारण मानवीय क्षति हुन नपाएको जननेत्र माविका शिक्षक भूमिराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालय तत्काल मर्मत गर्न नसकेमा पठन पाठन सञ्चालन गर्न समस्या हुने भएको छ ।

पिपललटारी, कटुवाचौपारी, शंकरपोखरी, धाइरिङ्ग, पाङ, दुर्लुङ्ग लगायतका क्षेत्रमा पनि हावाहुरीका कारण बालीनाली र कच्ची घर तथा सार्वजनिक भवनहरुमा क्षति पुगेको स्थानीयले बताएका छन् ।

त्यस्तै जलजला गाउँपालिकाको शालिजा, धाइरिङ, बनौ, कुश्मा नगरपालिकाको पिपलटारी, ठूलीपोखरी, खौलालाकुरी र मोदी गाउँपालिकाको देउपुर, महाशीलाको लुंखुदेराली लगायतका क्षेत्रमा बाक्लो असिना परेको छ । आधा घण्टाभन्दा बढी समय परेको असिनाले बालीनालीमा ठूलो क्षति पुगेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

कार्यालय प्रमुख बासु रेग्मीका अनुसार प्लाष्टिकका टनेल र बेमौसमी तरकारीमा ठुलो क्षति पुगेको बताउनुभयो । उता दक्षिण पर्वतको विहादी, महाशीला, पैंयु र फलेबास नगरपालिकाका विभिन्न वडाहरुमा पनि हावाहुरी र असिनापानीले क्षति पुर्‍याएकोछ ।