कान्ति लोकपथमा असोजदेखि गाडी गुड्ने, काठमाडौंदेखि हेटौंडा ३ घण्टामै
१८ वैशाख । काठमाडौं । ललितपुरको सातदोबाटोदेखि मकवानपुरको बुद्धचोकसम्मको यात्रा अब ३ घण्टामै पार गर्न सकिने भएको छ । काठमाडौंबाट ९० किमी दूरीमा हेटौंडा सम्म पुगिने कान्ति लोकपथ परियोजना सम्पन्न भएपछि काठमाडौंदेखि ३ घण्टामै हेटौंडा पुगिनेछ।
बि सं २०१३ सालमा नै नेपाली सेनाले निर्माण सुरु गरेको कान्ति लोकपथ आगामी असोज देखि सञ्चालनमा आउने भएको छ । गत आर्थिक बर्ष देखिनै सञ्चालनमा आउने भनिएपनि सडक फराकिलो बनाउने काम बाँकी भएकोले आयोजना भदौभित्र सम्पन्न भई असोजबाट सञ्चालनमा आउने बताइएको छ ।
आयोजनाको कूल भागमध्ये अहिलेसम्म ३३ किलोमिटर भाग कालोपत्रे गरी सकिएको छ ।जसमध्ये मकवानापुरतर्फको २५ किलोमिटर र ललितपुरतर्फको ८ किमि भाग कालोपत्र सकिएको छ ।
बाकिँ रहेको सडक खण्डमा ग्राभेलको काम सकिएको छ । सडक पक्की बन्ने भएसँगै यस वरपर चहलपहल शुरु भएको छ । वर्षायाममा साना सवारी साधनमात्र चलाइने यस रुटमा अब रोड बनिसकेपछी ठूला सवारी साधन पनि चलाउन दिइने आयोजनाले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्: