Swornakshar Logo

‘विप्लव’ समूहका बाजुरा जिल्ला इन्चार्जसहित १० कार्यकर्ता पक्राउ

बैशाख १७। बजुरा। नेत्रविक्रम चन्द समूहका बाजुरा इन्चार्ज भुपेन्द्र विकसहित १० जना कार्यकर्तालाई हातहतियारसहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय बाजुराबाट खटिएको प्रहरीको टोलीले बुढीगंगा नगरपालिकाका १ अम्कोटबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बाजुरा प्रमुख डिएसपी उद्धब सिं भाटले बताएका छन् ।

पक्राउ पर्नेमा बाजुरा ईन्चार्ज भुप्रेन्द्र विक, सचिब भरत थापा, जिल्ला कमिटी सदस्य अंगराज भण्डारी र पवित्रा बिक रहेका छन् । त्यस्तै विद्यार्थी कमिटीका गोरख रोकाया, समीक्षा बिक, सुशिला बिक, सुस्मिता बिक, केशातार बिक र प्रेम थापा रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई मंगलवार बिहान ५ बजे प्रहरी प्रमुख उद्धब सिं भाटको नेतृवमा गएको टोलीले प्रक्राउ गरेको हो ।

प्रहरीले पक्राउसँगै उनीहरुबाट २ वटा डेटोनेटर, २ वटा ह्याण्डग्रिनेट, त्यस्तै २ पाकेट गन पाउडर बरामत गरेको छ । साथमा लाखौं चन्दा संकलन गरेको चन्दा रसिद पनि फेला पारेको प्रहरी प्रमुख उद्धब भाटले बताएका छन् । प्रहरीले उनीहरु गाँउमा गएर चन्दा संकलन गरिरहेको साथै बिप्लब समूहका विभिन्न गतिविधिमा संलग्न हुँदै आएको आधारमा उनीहरुको खोजी कार्य गरि पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका बिप्लव समूहका कार्यक्रतालाई मुद्धा चलाइने जनाएको छ । उनीहरुलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ७ को दफा १ सय ३८ अनुसार बिस्फोटक पदार्थ सम्बन्धी कसुर ऐन लगाइने प्रहरी जनाएको छ । त्यस्तै दफा ५० अनुसार राज्य द्रोह मुद्धा चलाउने प्रहरी प्रमुख भाटले बताए ।