Swornakshar Logo

आगलागी हुँदा डोटीमा ७ सय ४४ हेक्टर वन नष्ट

बैशाख १७ ।डोटी । विभिन्न सामुदायिक तथा कबुलियती वनमा आगलागी हुँदा सात सय ४४ हेक्टर वन क्षेत्र नष्ट भएको छ ।

डिभिजन वन कार्यालय डोटीका निमित्त वन अधिकृत सुरेशचन्द्र डिसीका अनुसार, सामुदायिक तर्फका कम्तीमा ४५, कबुलियती तर्फका २ तथा अन्य केही सरकारी वनमा आगलागी भएको हो ।वनमा लागेको आगो निभाउने प्रयास गरिरहेको भए पनि आगो नियन्त्रणमा आउन नसकेको अधिकृत डिसीले बताउनुभयो । ‘पछिल्ला केही दिन यता पानी नपरेकाले पुरै जङ्गल सुख्खा छ, आगो निभाउने भरपुर प्रयास भए पनि सकिएको छैन, निभाउने प्रयास भइरहेको छ,’ उहाँले भन्नुभयो ।

डोटीमा तीन सय ६६ सामुदायिक र एक सय ९६ कबुलियती वनहरु रहेका छन् । सामुदायिक र कबुलियती वनमा लामो समयपछि आगो लाग्दा साना बुट्यान र विरुवा सखाप भएको जोरायल गाउँपालिका ५, गड्सेराको मसानी सामुदायिक वनकी कोषाअध्यक्ष दुर्गादेवी विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आगोले साना बुट्यान र बिरुवाहरु सखाप पारेको छ, नयाँ बिरुवा उम्रिन लामो समय पर्खिनु पर्ने अवस्था देखिएको छ ।’

आगलागीसम्बन्धी जनचेतना गराउँदा गराउँदै पनि धेरै वनमा लागेको आगो नियन्त्रण गर्न नसकिएको वन कर्मचारीको भनाइ छ । कतिपय जङ्गलहरुमा स्थानीयबासीन्दा र उपभोक्ताले नयाँ घास उम्रिने आशले पनि वनमा आगो लगाउने गरेका छन् । अधिकांश वनमा आगो लाग्दा आँखा चिलाउने, सास फेर्न आप्ठ्यारो महसुस हुने, वातावरण धमिलो देखिनेजस्ता समस्या आउन थालेको जोरायल गाउँपालिका २, का स्थानीय रामबहादुर मल्लले बताउनुभयो ।