Swornakshar Logo

अपराध महाशाखाको अत्याधुनिक भवन बन्दै

१६ वैशाख । काठमाडौं । २०७२ को भूकम्पछि त्रिपालमुनि बस्दै आएको महानगरीय अपराध महाशाखाको अब आफ्नै भवन बन्ने भएको छ । आयाल निगमले नेसनल टेडिङसँग किनेको टेकुस्थित हाल अपराध महाशाखा बसिरहेको ठाँउको १० रोपनी जग्गा दिने भएपछि अपराध महाशाखाको आफ्नै भवन बन्ने भएको हो ।

अपराध महाशाखाको भवन निर्माणका लागि आयल निगमको जग्गा खरिद प्रक्रिया सुरु भइसकेको प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले बताए । आयल निगमले दिने भनेको १० रोपनी जग्गा र भवन निर्माणमा लाग्ने रकम उपलब्ध गराइदिन प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई अनुरोधसमेत गरिसकेको छ ।

नयाँ बन्ने अपराध महाशाखाको भवन अत्याधुनिक सुविधा सम्पन्न बन्ने प्रहरी प्रधान कार्यालयको भनाइ छ । यसअघि हनुमानढोका बस्दै आएको काठमाडौं प्रहरी परिसर र अपराध महाशाखाको भवनमा भूकम्पले क्षति पुगेपछि टेकु सरेको थियो । चार वर्षसम्म त्रिपालमुनि बस्दा धेरै समस्या भोग्नुपरेको अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहको भनाइ छ । थुनुवा राख्नेदेखि उजुरी लिन आउनेसम्मलाई अप्ठ्यारो हुने गरेको उनको भनाइ छ ।

त्यस्तै, काठमाडौं प्रहरी परिसलाई समेत सरकारले सिंहदरबारको खाद्यसंस्थानको १५ रोपनी जग्गा उपलब्ध गराउने भएको छ । यसको कामसमेत चाँडै सुरु हुने परिसरका प्रमुख एसएसपी वसन्त लामाले बताए । आयल निगमले काठमाडौं प्रहरीलाई भवन खाली गर्न भन्दै पत्राचार गरिसकेको छ ।