Swornakshar Logo

‘बृद्ध भत्ता मासिक ५ हजार हुन्छ’ रक्षामन्त्री पोखरेल

बैशाख १६। भीमदत्तनगर । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आगामी वर्षको नयाँ बजेटमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाइने बताउनुभएको छ ।

आइतबार कञ्चनपुरको वेदकोट नगरपालिकाको चौथो नगरसभा तथा नवनिर्मित कार्यालय भवन उद्घाटन समारोहमा उपप्रधान तथा रक्षामन्त्री पोख्ररेलले ज्येष्ठ नागरिकको भत्ता प्रतिव्यक्ति मासिक पाँच हजार रुपैयाँ पुर्याइने जानकारी दिनुभयो ।

‘ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत स्वास्थ्य बीमा समेत गरिएको छु’ उहाँले भन्नुभयो, ‘सामाजिक सुरक्षाभत्ता सरकारले घटाउँदै छ भनेर गलत प्रचारबाजी गरिएको छ ।’ उहाँले वर्तमान सरकार कानून र विशेष नीति निर्माणमा लागेको बताउँदै चालु वर्षमा समृद्धिको तस्बीर खडा गर्न सरकार लागि परेको धारणा राख्नु भयो ।

‘हिजोका दिनमा सरकार मात्रै फेरिन्थ्यो’, मन्त्री पोखरेलले थप्नुभयो, ‘अहिले प्रणाली फेरिएको छ ।’ उहाँले कृषि, जलस्रोत, उद्योग स्थापना र पर्यटनको विकास नै समृद्धिको मुख्य आधार भएको बताउनुभयो । ‘जनप्रतिनिधिले जनताको मन बुझेर काम गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘जनताको निगरानीमा रहेर काम गर्नुपर्ने बेला आएको छ।’

नगरसभासँगै मन्त्री पोखरेलले नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्नुभयो । सोही कार्यक्रममा कञ्चनपुरका स्व पत्रकार कर्ण बोहराको स्मृतिमा स्थापना गरिएको पत्रकारिता पुरस्कारबाट यहाँस्थित अपि टुडे दैनिकका सम्पादक सुरेश धामीलाई सम्मान गरिएको छ ।

त्यसैगरी केही दिनअघि सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा कुस्तीतर्फ स्वर्ण पदक विजेता वेदकोटकै स्थानीय मनिषा सिंहलाई पनि नगदसहित सम्मान गरिएको छ ।