Swornakshar Logo

अब एटिएमबाट पैसा निकाल्न कार्ड नचाहिने

अब कार्ड बिना नै एटिएमबाट पैसा निकाल्न पाइने भएको छ। सिभिल बैंकसँगको सहकार्यमा हाम्रो टेक्नोलोजी प्रा।लि।ले ‘कार्डरहित एटिएम भुक्तानी’ सेवा प्रयोगमा ल्याउन लागेको हो। ‘एम बैंक’ एपमार्फत कम्पनीले यो सेवा सुरू गर्न लागेको हो। हाल बैंक, वित्तीय संस्था तथा सहकारी गरी २ सयभन्दा बढीले ‘एम बैंक’ एप प्रयोग गर्दै आएका छन्।

आफ्नो खाता भएको संस्थाले प्रयोग गर्ने ‘एम बैंक’ एपको माध्यमबाटै ग्राहकले सिभिल बैंकको नेपालभर रहेका ६८ एटिएमबाट कार्डबिना रकम झिक्ने सुबिधा पाउने छन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जनले यो प्रविधि सफल रुपमा परीक्षण भइसकेको जानकारी दिए। केही दिनमै यो प्रविधिको लञ्च गरिने उनले बताए। ‘कार्डबिना एटिएमबाट पैसा निकाल्न सकिनेगरी सबै प्राविधिक काम सकेका छौँ,’ महर्जनले सेतोपाटीसँग भने।

अब एटिएम नै सञ्चालन नगरेका विकास बैंक, फाइनान्स तथा सहकारीका ग्राहकले समेत यो लाभ पाउने छन्। एटिएम सञ्चालन नगरेका विकास बैंक, फाइनान्स र सहकारी संस्थाहरु यो प्रविधिमा जोडिएर ग्राहकलाई सेवा प्रदान गर्न सक्नेछन्।