४ जना मिलेर सुन भन्दै फलाम बेचेर ठगे १९ लाख

३ बैशाख । काठमाडौं । सुन भनेर १९ लाखमा फलामको टुक्रा बेच्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट गुप्तेश्वर नगरपालिका–६ का पूर्णबहादुर तामाङ, काभ्रे चौतारीका चन्द्र बहादुर श्रेष्ठ, प्रविन श्रेष्ठ र सुवास श्रेष्ठ छन् ।
पक्राउ परेका चारजना मध्ये तीन जना दाजुभाई रहेको प्रहरीको भनाइ छ । उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार सुन्धाराबाट पक्राउ गरेको हो ।
उनीहरूले राजेश विकलाई सुनको टुक्रा देखाएर सुन राख्ने बट्टामा फलामको टुक्रा हालेर दुई किलो सुन हो भन्दै १९ लाख रुपैंया लगेको उजुरीको आधारमा परिसरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बताए।
उनीहरुको साथबाट प्रहरीले ७० हजार नगद र श्रेष्ठ दाजुभाईले चलाउदै आएको बा २ ज १८४१ नम्बरको ट्याक्सी समेत बरामद गरेको छ । उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
त्यस्तै प्रहरीले डलर साट्ने भन्दै ठगि गरेको अभियोमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली दुधौलीका उमेश घिसिङ, प्रेम घिसिङ र दानबहादुर तामाङ छन् ।
उनीहरुले डलर साट्ने भन्दै भित्र कागज हालेर ठगी गरेको अभियोगमा पक्राउ गरेको प्रहरीको भनाइ छ । उनीहरु विभिन्न लुटपाटको घटनामा समेत संलग्न रहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्: