विप्लव समूहका जिल्ला सचिवको घरबाट पेस्तोल बरामद
गएको शुक्रबार पक्राउ परेका विप्लव नेतृत्व नेकपा समूहका बझाङ जिल्ला सचिव भरत मल्लको घरमा शनिबार जिल्ला प्रहरी कार्यालयको टोलीले खानतलासी गर्दा हातहतियार फेला परेको छ ।
खानतलासीका क्रममा मल्लको घरबाट फोल्ड गर्न मिल्ने कटुवा पेस्तोल एक थान, पेस्तोलमा लाग्ने दुई राउण्ड गोली, फोन सेट एक थान, चरेशजस्तो देखिने कालो पदार्थ, विद्युतीय तार १०।५ मिटर, र बम बनाउन प्रयोग गरिने पाइप सकेट एक थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक सूर्य बहादुर केसीले बताउनुभयो ।
मल्लमाथि थप अनुसन्धानका क्रममा मल्लको घरमा खानतलासी गरिएको केसीको भनाइ छ ।
सबै प्रक्रिया पुर्याएर नै मल्लको घरमा प्रहरीले खानतलासी गरेको डीएसपी केसीले बताउनुभयो । शुक्रबार दिउँसो ३ बजेतिर विथ्थडचिर गाँउपालिकाको स्याँडी प्रहरी चौकीबाट खटेको प्रहरीले मल्ललाई पक्राउ गरेको थियो । प्रक्राउ परेका मल्ल अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।
प्रहरीले सवारी साधन चेकिङ गर्ने क्रममा विथ्थडचिर गाँउपालिका नजिकै रहेको स्याँडी प्रहरी चौकीबाट मल्ललाई प्रहरीले प्रक्राउ गरेको थियो । कैलालीबाट घर आउँदै गरेको सूचनाका आधारमा मल्ललाई प्रक्राउ गरिएको डीएसपी केसीको भनाइ छ ।
मल्ललाई चन्दा संकलनको धम्की, ज्यान मार्ने धम्की, संघ–संस्था भत्काउनेसम्मको धम्की दिएको आरोपमा प्रक्राउ गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्: