Swornakshar Logo

लुक्ला विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

१ बैशाख । काठमाडौ । सोलुखुम्बुको लुक्ला विमानस्थलमा आइतबार बिहान भएको समिट एयर विमान दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । आइतबार बिहान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै र घाइते एक जनाको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।

आइतबार विहान ९ बजेर ५ मिनेटमा लुक्लाबाट काठमाडौंका लागि उडान भर्ने क्रममा विमान दुर्घटना भएको हो । समिट एयर नाइन एन एएमएचको ट्वीनओटर विमान टेकअफ गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर पार्किङ गरिराखेको मनाङ एयरको हेलिकप्टसँग ठोक्किएको थियो ।

दुर्घटनामा विमानका को–पाइलट सुजित ढुंगाना र पर्यटक प्रहरी कार्यालय लुक्लाका कार्यरत प्रहरी साहायक निरिक्षक राम बहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक प्रदीप सुवेदीले जानकारी दिए । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा घाइते भएका पर्यटक प्रहरी कार्यालय लुक्लामा कार्यरत असई रुद्र बहादुर श्रेष्ठको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।

विमानका पाइलट रबिनाथ रोकाया, र मनाङ एयर हेलिकप्टरका पाइलट चेत बहादुर गुरुङको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका विमानकी एयर होस्टेस आर लामाको अवस्था सामान्य रहेको छ ।

प्रहरीका अनुसार रामेछापको मन्थलीका लागि उड्न लागेको विमान र मनाङ एयरको हेलिकप्टरमा ठोक्किएको थियो । विमान धावनमार्गबाट ट्रयाक अफ भई हेलिकप्टरसँग ठोक्किएको थियो । विमानमा पाइलट रोकाया, को पाइलट ढुंगाना र एयर होस्टेस लामा मात्र थिए ।

ट्रयाक अफ भएको विमानले हेलिकप्टरसँग ठोक्किनुअघि विमानस्थलमा कार्यरत सुरक्षाकर्मीहरु खड्का र श्रेष्ठलाई ठक्कर दिएको थियो ।

लुक्ला विमानस्थल ट्रेकिङको लागि उपयुक्त समयमा अत्यन्तै व्यस्त रहने विमानस्थल मध्ये एक हो । त्यस्तै लुक्ला विमानस्थल उडानका लागि विश्वकै जोखिमयुक्त विमानस्थल मध्ये एक मानिन्छ ।