Swornakshar Logo

हेटौंडा उपमहानगरपालिकाले शव जलाउने मेसिन किन्दै

मृत शरिरलाई खोलामा लगेर जलाउनु पर्ने झन्झटबाट मुक्त गराउनका लागि हेटौंडा उपमहानगरपालिकाले सब जलाउने मेसिन खरिद गर्ने निणय गरेको छ ।

काठमाण्डौको पशुपति आर्यघाटमा सब जलाउने मेसिन मार्फत मृतकको शव जलाउने गरिन्छ । तर अब हेटौंडाको राप्ती खोलामा पनि दाउरा, मुडा बालेर शव जलाउने गर्दा जताततै प्रदुषण भएपछि आधुनिक तरिकाले शव जलाउनका लागि मेसिन खरिद गर्न लागिएको हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताए ।

नेपालमा यस्तो मेसिन नपाउने हुँदा खरिद प्रकृया निकै झन्झटिलो रहेको प्रमुख महतले बताए । उपमहानगरपालिकाको चौथो नगरसभा बैठकले सब जलाउने मेसिन खरिद गर्ने निणय गरेको हो । यो मेसिन खरिद गर्न ९० लाख रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ । नगरसभाको बैठकले सब जलाउने मेसिन खरिद गर्नका लागि यो रकम छुट्याएको हो ।

त्यसैगरी हेटौंडाबाट संकलित फोहोर जलाउन मेसिन खरिद गरिने भएको छ । फोहोरका कारण दुर्गन्ध बढ्ने र रोग समेत फैलिने भएकाले स्वास्थ्य सुरक्षाको लागि फोहोर जलाउने मेसिन खरिद गर्ने गरी नगरसभाबाट निर्णय गरिएको प्रमुख महतले जानकारी दिए । यसका लागि ४० लाख रुपैयाँ बजेट छुट्याइएको छ । यो मेसिन पनि नेपालमा नपाउने हुनाले भारतबाट खरिद गर्नुपर्ने हुन्छ ।