सभापतिको भेलाबाट देउवा गलाउने रणनीतिमा पौडेल र सिटौला
२० चैत । काठमाडौं । कांग्रेस संस्थापनका विपक्षमा रहेका जिल्ला सभापतिहरू नयाँ रणनीति बनाउन काठमाडौंमा भेला भएका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधर जिल्ला सभापति संलग्न रहेको भेलाले महासमिति बैठकले दिएको म्यान्डेटबाहिर गएर केन्द्रीय समितिले विधान अनुमोदन गरेको भन्दै त्यसविरुद्ध रणनीति बनाएर संस्थापनमाथि दबाब बनाउदै छ ।
केन्द्रीय सदस्य पार्टीको तल्लो कमिटी (बुथ)बाटै निर्वाचित भएर आउनुपर्ने, समानुपातिक समावेशी कोटाबाट बढीमा दुईपटक मात्र केन्द्रीय सदस्य बन्न पाउनुपर्नेलगायतका एजेन्डा बोकेर हिँडेको संस्थापन पक्ष केन्द्रबाट यी एजेन्डा सम्बोधन नभएपछि असन्तुष्ट छ।
कांग्रेस केन्द्रीय समितिले सर्वसम्मत पारित गरेको भनिएको विधानमा पौडेल र सिटौला पक्षले विमति जनाउँदै आएका थिए । गुटभित्रै सीमित असन्तुष्टलाई सभापति देउवाले धम्कीपूर्ण भाषा प्रयोग गरेर मलजल गरेपछि जिल्ला सभापति भेला डाकिएको असन्तुष्ट नेताको अगुवाइ गरिरहेका एक जिल्ला सभापतिले बताए ।
आजबाट सुरु भएको भेलामा ५० बढी जिल्ला सभापति सहभागी रहेको बताइए पनि कतिपय जिल्ला सभापतिले भेलाविरुद्ध मुख खोलेका छन् । मकवानपुर जिल्ला सभापति इन्द्रबहादुर बानियाँले हेटौंडामा पत्रकार सम्मेलनै गरेर भेलालाई बेमौसमी बाजा भनेका छन् । उता, भक्तपुर जिल्ला सभापतिले समेत भेलामा सहभागी नहुने बताइसकेका छन् ।
काठमाडौंमा असन्तुष्टको भेलालाई भने पौडेल र सिटौलाले सम्बोधन गर्ने कार्यक्रम छ ।
पार्टीभित्र देउवा हावी भएको निष्कर्षमा पुगेका पौडेल र सिटौलाले बढीभन्दा वढी जिल्ला सभापति आफ्नो पक्षमा देखाएर संस्थापन गलाउने रणनीतिसाथ भेला डाके पनि केन्द्रीय समितिले विधानबारे गरेको निर्णयमा फेरबदल नहुने संस्थापन पक्षका नेता बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्: