Swornakshar Logo

देउवा विरुद्ध रणनीति बनाउँदै काङ्ग्रेस जिल्ला सभापतिहरु

१९ चैत । काठमाडौं । नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरुले आफ्ना माग पूरा गराउन नेतृत्वलाई दबाब दिने उद्देश्यले अनौपचारिक भेलाको आयोजना गर्दैछन् । भेलामा मुख्य रुपमा पार्टीका सबै पदाधिकारी र केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित हुनुपर्ने र पार्टीको आरक्षण सुविधा एक व्यक्तिका लागि एक पटक मात्र हुनुपर्ने विषयलाई जोड्दार साथ उठाइने बताइएको छ ।

बुधबारदेखि काठमाडौँमा हुन लागेको दुईदिने भेलामा पार्टीको संस्थापन पक्षका सभापतिको भने उपस्थिति नहुने बताइएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष निकट मानिने नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसीले जिल्ला सभापतिको भेला बुधबार हुन लागेको जानकारी दिँदै भने, ‘भेलामा महासमिति बैठकमा उठेका विषय र समसामयिक राजनीतिक विषयमा छलफल हुन्छ ।’ भेलापछि नेतृत्वलाई दबाब दिन मागसहितको घोषणापत्रसमेत जारी हुने उनको भनाइ थियो ।

सो भेलालाई संस्थापन पक्षले भने केही जिल्ला सभापतिका अनौपचारिक भेट मात्र हो भनी टिप्पणी गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्ष निकट मानिने भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले जिल्ला सभापतिका भेला हुने भन्ने हल्ला भए पनि कुनै औपचारिक भेला नभएको बताए । ‘केही साथीहरु बसेर छलफल गर्नुहुन्छ होला सभापतिको भेला भने छैन्,’ उनले भने ।

काठमाडौँका जिल्ला सभापति कृष्णसवुज बाँनियाले जिल्ला सभापतिको औपचारिक भेला नभए पनि सबै जिल्ला सभापति उपस्थिति भई छलफल हुने जानकारी दिँदै औपचारिक उद्घाटन भने नहुने बताए । साङ्गठनिक गतिविधिका सम्बन्धमा पार्टीले लिनुपर्ने निर्णयबारे छलफल हुने उहाँले बताए ।

काङ्ग्रेस महासमिति बैठकको भावनाअनुसार पार्टी केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय जिल्ला सभापतिहरुको आरोप छ । काङ्ग्रेस महासमिति बैठक गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको थियो । महासमिति बैठकमा सबै पदाधिकारी र केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित हुनुपर्ने र पार्टीको आरक्षण सुविधा एक व्यक्तिका लागि एक पटक मात्र हुनुपर्ने विषय ठूलो मतका साथ उठेपनि पछि केन्द्रीय समितिले सो विषयलाई सम्बोधन नगरी निर्णय गरेको थियो ।

उक्त दुई मागका सम्बन्धमा सबै जिल्ला सभापतिका सहमति भए पनि संस्थापन इतर पक्षले आफ्नो मात्र माग हो भन्ने जसरी अतिरञ्जित गरेको भन्दै भक्तपुरका सभापति थापाले आपत्ति प्रकट गरे ।