आँधीहुरी प्रभावितलाई १० लाख दिन विद्यार्थी संगठनको माग
१८ चैत । काठमाडौं । सत्तारुढ दल नेकपाका दुबै विद्यार्थी संगठन डाक्टर र स्वास्थ्यकर्मीसहित आँधी प्रभावित बारा–पर्सा जिल्लामा परिचालित हुने भएका छन् ।
अनेरास्ववियु र अखिल (क्रान्तिकारी)को सोमबार बसेको पदाधिकारीको संयुक्त बैठकले दुवै संगठनका अध्यक्षद्वय नविना लामा र रञ्जित तामाङ नेतृत्वको टोली बारा र पर्सामा परिचालित हुने निर्णय गरेको हो ।
साथै दुवै अध्यक्षको नेतृत्वमा प्रदेश नं. २ र आसपासका दुवै संगठनको सिङ्गो कार्यकर्ता पंक्ति राहत र उद्धारमा परिचालन गर्ने निर्णय गरियो,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
आँधीमा ज्यान गुमाउनेहरुका परिवारलाई जनही १० लाख राहत तथा परिपुरण रकम उपलब्ध गराउन पनि दुवै संगठनले सरकार समक्ष माग गरेका छन् ।
साथै घाइतेको निःशुल्क उपचार र घरबास पुनःस्थापनाका लागि तत्काल कदम चाल्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग मागसमेत गरिएको छ ।
अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)ले प्राकृतिक प्रकोप प्रभावित क्षेत्रमा अभिभावक गुमाएका र घरवारविहीन भएका बालबालिकाहरुको पठनपाठन प्रभावित हुन नदिन आवश्यक सबै कदम चाल्न पनि माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्: