Swornakshar Logo

आँधीबेहरीमा मृत्यु भएका परिवारलाई तीन लाख राहत

१८ चैत । काठमाडौं । प्रदेश नम्बर २ सरकारले आँधीबेहरीमा मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप जनही तीन लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ । सोमबार बिहान जनकपुरधाममा बसेको मन्त्रीपरिषद् बैठकले आइतबार बारा र पर्साका जिल्लामा आँधीबेहरीबाट मृत्यु भएका व्यक्तिका परिवारलाई राहत स्वरुप तीन लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले आँधीबेहरीमा परी घाइते भएकाहरुको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले नै व्यहोर्ने पनि निर्णय गरेको छ । बैठकले आँधीबेहरीले पुर्याएको क्षतिको अध्ययन गरेर तत्काल राहत तथा उद्धारका लागि राहत तथा उद्धार व्यवस्थापन उच्चस्तरीय समिति पनि गठन गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा गठित उच्चस्तरीय समितिमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय, सामाजिक विकास मन्त्री नवलकिशोर साह, मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा र आन्तरिक मामिला तथा कानुुन मन्त्रालयका उपसचिव अरुणकुमार झा सदस्य रहेका छन् ।

मन्त्रीपरिषद् बैठकले विपद व्यवस्थापन उद्धार, क्षतिपूर्ति, उपचार र तत्काल राहत उपलब्ध गराउने लगायतका कामका लागि संघीय सरकार, स्थानीय सरकार, सरोकारवाला, संघ–संस्थालगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामति कर्मचारीलगायतलाई आव्हान गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई आग्रह गर्ने पनि निर्णय गरेको मुख्य सचिव दीपक सुवेदीले जानकारी दिए ।

प्रदेश नम्बर २ सरकारले विपद व्यवस्थापनका लागि तत्काल औषधी, खाद्यान्न, त्रिपाललगायतका राहत सामाग्रीहरु तथा तत्काल उपचार उपलब्ध गराउन जिल्ला दैवी प्रकोप उद्धार समितिलाई क्रियाशिल गराई परिचालन गर्ने पनि निर्णय गरेको छ ।

मन्त्रीपरिषद् बैठकले विपद व्यवस्थापन उद्धार, क्षतिपूर्ति र तत्काल ारहत उपलब्ध गराउने लगायतका कामका लागि सहयोग गर्न चाहने सरोकारवालालाई मुख्यमन्त्री राहत कोषमा आर्थिक् सहयोग गर्न पनि आह्वान गरेको छ ।

राहत कोषमा आर्थिक सहयोग गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैङ्क, जनकपुर शाखाको खाता नम्बर १२२०५०३०००००० मा रकम जम्मा गर्न सक्ने मुख्य सचिव सुवेदीले बताए ।