Swornakshar Logo

जनकपुर बम काण्डमा दोषी ठहर पूर्व राज्यमन्त्री सञ्जयकुमार साहलाई अदालतद्वारा जन्मकैदको फैसला

६ वर्षअघि जनकपुरमा भएको बम काण्डमा दोषी ठहर गर्दै जिल्ला अदालत धनुषाले पूर्व राज्यमन्त्री सञ्जयकुमार साहलाई जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश राजेशकुमार कटुवालको इजलासले आज साहसहित अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकश चौधरी, मुकेशकुमार कर्ण, सुरेश कर्ण र रिपेन्द झालाई जन्मकैदको फैसला गरेको हो । ओमप्रकाश यादवलाई ५ वर्षको कैद तोकिएको छ भने सुजितकुमार पाण्डेले सफाइ पाएका छन् । अभियुक्तहरुमाथि ज्यान मार्ने र ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको थियो ।

अदालतले ज्यान मार्नेमा जन्मकैद र ज्यान मार्ने उद्योगमा १२ वर्षको कैद सजाय तोकेको हो । प्रतिवादीहरु जितेन्द्रकुमार कर्ण, आदित्य देब, नारायण भन्ने उमेश यादव र फुलकुमार यादव फरार छन् । उनीहरुको हकमा पछि फैसला हुने अदालतले जनाएको छ । २०६९ वैशाख १८ गते मिथिला राज्यको माग गर्दै मिथिला राज्य संघर्ष समितिले जनकपुरको रमानन्द चोकमा धर्ना दिएका बेला बम विस्फोट गराइँदा ५ जनाको ज्यान गएको थियो ।

पूर्व राज्यमन्त्री साह २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमका तर्फबाट धनुषा–४ र दोस्रो संविधानसभा निर्वाचनमा सद्भावनाका तर्फबाट धनुषा–३ बाट विजयी भएका थिए । साह ६ वर्षदेखि पुर्पक्षका लागि कारागारमा छन् ।