Swornakshar Logo

म आएँ अब पार्टी एकताले गति लिन्छः प्रचण्ड

१४ चैत । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब पार्टी एकताले गति लिने बताएका छन् । श्रीमती सीता दाहालको उपचारका लागि अमेरिका गएका प्रचण्डले आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पार्टी एकताको काम अब तिब्र गतिमा हुने बताएका हुन् ।

‘म अमेरिका नगएको भए यतिञ्जेल पार्टी एकता टुंगोमा पुग्थ्यो’ अध्यक्ष प्रचण्डले भने ‘अब हामी पार्टी एकतालाई गति दिन्छौं। केही दिनमा एकता प्रक्रिया टुंगिन्छ।’
अमेरिका बसाइका क्रममा नेपाली समुदायसँग सघन कुराकानी भएको अध्यक्ष प्रचण्डले बताए । उनले भने, ‘उपचारको काम सकिएपछि अमेरिका बस्ने नेपालीहरुसँग राम्रो कुराकानी भयो। नेपालका बारेमा, २ देशको सम्बन्धका बारेमा सकारात्मक कुराकानी भयो।’

भ्रमणका क्रममा नेपालका लागि पूर्वअमेरिकी राजदूत, अमेरिकी सरकारका विशिष्ट कर्मचारी र अमेरिकामा रहेका नेकपाका नेता–कार्यकर्तासँग पनि राम्रो कुराकानी भएको अध्यक्षले बताए। उनले नेपालको सशस्त्र युद्धबारे अमेरिकामा रहेको भ्रम निवारण भएकोसमेत बताए।

प्रचण्डले नेपाल र अमेरिकाबीच उच्च राजनीतिक तहमा बार्ता गर्नेबारे सैद्धान्तिक समझदारी भएकोसमेत जानकारी गराए । उनले भने, ‘नेपाल र अमेरिकाबीच उच्च राजनीतिक तहमा सम्वाद नभएको लामो समय भएको छ। अब उच्च तहमा राजनीतिक सम्वाद हुनुपर्छ भन्ने विभिन्न तहका छलफलमा कुराकानी भएको छ, त्यसका लागि हामी प्रयास गर्छौं।’

१० दिन अघि अमेरिका गएका प्रचण्डले श्रीमती सीताको स्वास्थ्यमा निकै सुधार आएको बताए । उनले भने, ‘सीता दाहालको उपचारको काम सकेर एयरपोर्टमा आएको छु। म जाने बेला पनि मूख्यतः उपचारको निम्ति जाँदैछु भनेको थिए। केही राजनीतिक भेटघाट पनि हुन्छन् भनेको थिएँ। त्यहीअनुसार नै भेटघाट र कुराकानी भयो।’

अध्यक्ष प्रचण्डले सीताको शरीर र मस्तिष्कलाई फूर्तिलो बनाउने यन्त्र र औषधि लिएर आफूहरु फर्किएको बताए। उनले भने , ‘डाक्टरले २ क्याटगोरीका शरीरमा लाउने प्याज दिएका छन्। नयाँ औषधि दिएका छन्। यो रोगलाई पिएसपी भनिँदो रहेछ। अमेरिकाका डाक्टरहरु यसलाई क्यान्सरकै औषधिमार्फत् उपचार गर्न सकिनेबारे अन्तिम परीक्षणमा रहेछन्।’

‘म जहाजमै रहेको बेला मेराविरुद्ध मेरील्याण्डमा उजुरी परेको परेछ’ द्वन्द्वकालीन घटनाका विषयलाई लिएर नेपाली मूलका अमेरिकी नागरिक तिलक श्रेष्ठले दिएको उजुरीबारे स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले भने, ‘तर, मलाई जानकारी दिइएन। एयरपोर्टमा पुग्नेबित्तिकै मलाई भूमिगत रुपमै गन्तव्यसम्म पुर्याउने व्यवस्था गरिएको रहेछ। मैले पछि थाहा पाएँ।’

अध्यक्ष प्रचण्डले अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की लगायतका नेपालीहरुले आफूलाई केही नहोस् भनेर सावधानी अपनाएको बताए। उनले भने, ‘राजदूत लगायतका साथीहरुले नै त्यो व्यवस्था गर्नुभएको रहेछ। उहाँहरुमा प्रचण्डलाई केही हुन्छ कि भन्ने चिन्ता रहेछ। हुनेवाला केही पनि थिएन। अमेरिकाले मेराबारे पहिले नै ‘नो इन्भेष्टिगेशन’ जारी गरिसकेको थियो।’