Bagmati Samachar Logo

हेमन्तप्रकाश वलीलाई ३ दिनभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

१४ चैत । काठमाडौं । सर्वोच्च अदालतले प्रहरी नियन्त्रणमा रहेका विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई हाजिर गराउन सरकारलाई निर्देशन दिएको छ ।
वलीलाई प्रहरीले पक्राउ परेपछि छोरी विपना वलीले बिहीबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । रिटमा प्रारम्भिक सुुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले बन्दी बनाउनुको कारणसहित तीन दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
विप्लव नेतृत्को नेकपाका मध्य कमाण्ड इन्चार्ज तथा स्थायी समिति सदस्य वलीलाई चैत ९ गते शनिबार काभ्रेको खानीखोला–७, मिल्चेबाट पक्राउ परेका थिए । उनीसहित ९ जनालाई बा १७ च ४८९३ नम्बरको स्कर्पियो जीपबाट काठमाडौं आउँदै गर्दा पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ । जीपमा हतियारसमेत भेटिएको सुरक्षा संयन्त्रको दाबी छ ।

वलीमाथि संगठित अपराध मुद्दामा अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत ललितपुरबाट ८ दिनको म्याद लिएको छ ।