Swornakshar Logo

अछाममा विप्लवका कार्यकर्ता गिरफ्तार गर्न प्रहरीले ६ राउण्ड गोली चलायो

१२ चैत । काठमाडौ । प्रहरीले अछाममा गोली चलाएर नेपाल कम्युनिस्ट पार्टी(विप्लव)का नेताहरुलाई गिरफ्तार गरेको छ । मंगलबार अछामको रामरोसन गाउँपालिकाको बाटुलासैनमा प्रहरीले ६ राउण्ड गोली चलाएको बताइएको छ ।
नेकपाका नेताहरु बसेको सूचना पाएको प्रहरी बाटुलासैन पुगेको थियो । करिब दिउँसो १ बजेतिर नेकपाका नेता कार्यकर्ताले प्रहरीमाथि गोली चलाएकाले जवाफी कारवाही गरेको सुदुरपश्चिमका डिआजी सुरज केसीले जानकारी दिए ।

प्रहरीले ६ राउण्ड हवाइ फायर गरि नेकपाका चार नेतालाई गिरफ्तार गरेको केसीले बताए । गिरफ्तार पर्नेमा पार्टी निकट अखिल क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष सुरेश राउत, युवा सङ्गठनका जिल्ला सदस्य सुरेश साउद, अनेमसंघ क्रान्तिकारीकी भुमीसरा धामी र युवा सङ्गठनकै राजेन्द्र धामी रहेका छन् ।

नेकपा अछामले घटनाप्रति घोर आपत्ति जनाएको छ । आफ्ना निशस्त कार्यकर्तामाथि गोली चलाएको भन्दै नेकपाले अछामले विरोध जनाएको छ । पक्राउ परेका विप्लव समूहका कार्यकर्तालाई अहिले अछामको सदरमुकाम ल्याइदै छ ।