Swornakshar Logo

विप्लवका मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओलीसहित ९ पक्राउ

९ चैत । काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का मध्यकमान्ड इञ्चार्ज हेमन्तप्रकाश ओली सुदर्शन समातिएका छन् । उनी सहित ८ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको विशेष व्युरोले ओलीसहित ८ नेता कार्यकर्तालाई शुक्रबार राति काभ्रेबाट पक्रेको हो ।

एक जना प्रहरी अधिकारीले ओली सहित ८ जना समातिएको बताए । उनले भने ‘हेमन्तप्रकाश ओली सहित ८ नेता–कार्यकर्ता प्रहरीले गिरफ्तार गरेको छ ।’

पक्राउ पर्नेमा धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी र विजय श्रेष्ठ छन् । त्यस्तै, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का रहेका छन् । उनीहरु कुन तहका नेता हुन् भन्ने खुलेको छैन ।

प्रहरी स्रोतका अनुसार, नियन्त्रणमा लिइएका सबै नेता–कार्यकर्तालाई हिजो राती नै काभ्रेबाट काठमाडौं परिसर, टेकु ल्याइएका छन्।

यसअघि प्रहरीले ओलीलाई नियन्त्रणमा लिन काभ्रेमै सर्च अपरेशन चलाएको थियो । ओली प्रहरीलाई छक्याउँदै भाग्न सफल भए पनि चार नेता कार्यकर्ता पक्राउ परेका थिए । तथापि, उनी त्यसको केही दिनपछि प्रहरीको नियन्त्रणमा परेका छन् ।

हेमन्तप्रकाश ओली दोस्रो पटक पक्राउ परेका छन् । पहिलो पटक उनी ०५५ साल माघ २९ गते बाजुराको दोगरीबाट गिरफ्तार भएका थिए । पक्राउ परेपछि पिसाब फेर्ने निहुँमा प्रहरी घेरा तोड्ने प्रयास गरेका थिए । उनलाई प्रहरीले ढुङ्गाले हानेर नियन्त्रणमा लिएको थियो । त्यसक्रममा ओलीको टाउकोमा गहिरो चोट लागेको थियो । पछि चर्को यातना दिएको थियो । पक्राउको केही समयपछि नेकपा एमालेका तत्कालिन नेता कर्ण थापालगायतको सहयोगमा ओली जिल्ला अदालत बाजुराबाट फरार हुन सफल भए ।
त्यसको २० वर्षपछि ०७५ चैत्र ८ गते राती उनी दोस्रो पटक काभ्रेबाट पुनः पक्राउ परेका छन् । अनेरास्ववियुदेखि नै तत्कालिन चौथो महाधिवेशन स्कुलिङमा आवद्ध उनी तत्कालिन नेकपा माओवादीभित्र राम्रो सैद्धान्तिक, बैचारिक नेता हुन् । ओली पार्टी स्कुल विभाग प्रमुख समेत भएका थिए । रुकुममा जन्मिएका थिए ओली । उनले जनयुद्धमा छोरी सुवर्णलाई गुमाएका छन् । उनकी छोरीले सल्यानमा शहादत प्राप्त गरेकी थिईन । जनयुद्धमा आफ्ना सन्तान गुमाउने माओवादीका तीन शिर्ष नेता (पोष्टबहादुर बोगटी, ओली र हितराज पाण्डे) मध्ये ओली एक हुन् । प्रचण्डपथ नामक पुस्तक समेत लेखेका छन् ।

सरकारले विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाएपछि पक्राउ पर्ने ओली सबैभन्दा उच्च तहका नेता हुन् । ओली स्थायी समिति सदस्य हुन । उनी मध्यकमाण्डको इन्चार्ज हुन । उनले सम्हालेको मध्यकमाण्ड अहिलेसम्म उनी लगाएत सबैभन्दा धेरै नेता–कार्यकर्ता पक्राउ परेका छन् ।