Swornakshar Logo

भारतीय नम्बर प्लेटको ट्रकबाट धादिङमा १६४ किलो चरेस बरामद

लुकाइछिपाई भारततर्फ लैजाँदै गरेको ठूलो मात्राको चरेस प्रहरीले बरामद गरेको छ । पृथ्वी राजमार्गमा सवारी चेक जाँचका क्रममा प्रहरीले १६४ किलोग्राम प्रतिबन्धित लागूऔषध चरेस बरामद गरेको हो ।

जाँचका क्रममा भारतीय नम्बर प्लेटको युपी १९ टी ५१७१ नंको ट्रकबाट सो चरेश बरामद गरिएको हो । आज शुक्रबार बिहान काठमाडौँबाट भारततर्फ जान लागेको ट्रकको क्याबिनमा आठ बोरामा हालेर लुकाइछिपाई लैजान लागेको अवस्थामा उक्त परिमाणमा चरेस बरामद गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए ।

लागुऔषध चरेससहित गजुरी गाउँपालिका–१ नजिकै पृथ्वीराजमार्गबाट भारत उत्तर प्रदेश निवासी २५ वर्षीय मौ महातपलाई पक्राउ गरी हिरासतमा लिइएको छ । गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ साथै उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।