Swornakshar Logo

आत्महत्याको विषयलाई लिएर मकवानपुरमा बन्यो चलचित्र ‘कल्चर’

७ मंसिर । हेटौँडा । मकवानपुरमा आत्महत्याको विषयलाई लिएर चलचित्र निर्माण हुने भएको छ । लाबा मिडिया प्रा.लि.को ब्यानरमा थाहा कला केन्द्रको प्रस्तुती रहेको नेपाली कथानक चलचित्र ‘कल्चर’ को आज प्रोमो रिलिज तथा पत्रकार सम्मेलन सम्पन्न भएको हो ।

हेटौँडामा रहेको न्यूज क्लब नेपालमा चलचित्रको प्रोमो रिलिज तथा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका लेखक तथा निर्देशक सानुबाबु मोक्तानले आत्महत्याको विषयमा चलचित्र निर्माण गरिएको बताए ।

अहिले नेपालमा युवादेखि वृद्ध÷वृद्वाहरुले आत्महत्या गर्ने गरेको प्रसंग, आत्महत्याको कारणलाई चलचित्रलाई खोतल्ने प्रयत्न गरिएको निर्देशक मोक्तानको भनाई रहेको छ ।

चलचित्रले आत्महत्यापछि परिवारमा भएको तनाव तथा आत्महत्यासम्मको अवस्थाको विषयमा चलचित्रमा मार्मिक ढंगबाट व्याख्या गरिएको उनले बताए । चलचित्र हेरेपछि आत्महत्या गर्ने सोचमा पुगेकाहरु समेत आत्महत्या नगर्ने उनले ठोकुवा समेत गरे । उनले चलचित्र निकै राम्रो बनेको समेत बताए ।

२१ लाख रुपैयाँको लागतमा निर्माण भएको चलचित्र मकवानपुरको थाहा नगरपालिका वडा नम्बर २ भाङखोरीया, दामान, पालुङ तथा हेटौँडामा छायांकन गरिएको मोक्तानले बताए ।

चलचित्रमा मिना पूर्णिमा खड्का, विना मोक्तान, विनित रायमाझी, दिपराज खत्री, रुपक कालिराज, शुभराज भोम्जन, रवि जिम्वालगायतको अभिनय रहेको छ ।

चलचित्रमा अजय वाईवाको सम्पादन, थाहा कलाकेन्द्रको नित्य, दिपराज गिरी र मुक्तिनाथ उप्रेतीको संगित रहेको छ । चलचित्रलाई मंसिर १५ गते थाहा कलाकेन्द्रमा प्रिमियर गरिने चलचित्र युनिटको भनाई रहेको छ ।