Bagmati Samachar Logo

भेनेजुएलाको राजधानी काराकासमा शक्तिशाली दुई भूकम्प, १० हजारभन्दा बढीको ज्यान जान सक्ने आशंका

 

भेनेजुएलाको राजधानी काराकासमा केही सेकेन्डको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्प आएका छन्। पहिलो भूकम्प ७.२ र दोस्रो ७.५ रेक्टर स्केलको मापन गरिएको थियो।

भूकम्पका कारण ठूलो जनधनको क्षति भएको आशंका गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण संस्थाका अनुसार मृतकको संख्या १० हजारभन्दा बढी पुग्ने सम्भावना ४४ प्रतिशत रहेको अनुमान गरिएको छ।

भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रका नाममा सम्बोधन गर्दै देशभर आपत्काल घोषणा गरेकी छन्। सम्बोधनका क्रममा उनीसँग गृहमन्त्री तथा राष्ट्रिय सभाका अध्यक्ष रहेका उनका दाजु जोर्ज रोड्रिगेज पनि उपस्थित थिए। राष्ट्रपति रोड्रिगेजले राहत तथा उद्धार कार्यको समन्वयका लागि एक जना सैनिक जनरललाई जिम्मेवारी सुम्पिएकी छन्।

यस वर्ष जनवरीदेखि अन्तरिम रूपमा देशको नेतृत्व गरिरहेकी रोड्रिगेजले नागरिकहरूलाई एकताबद्ध हुन आग्रह गर्दै भूकम्पमा आफ्ना प्रियजन गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गरिन्। यद्यपि, मृतकको आधिकारिक संख्या भने सार्वजनिक गरिएको छैन।

भूकम्पको केन्द्रबिन्दु

भूकम्पको केन्द्र काराकासको पश्चिममा रहेको मोन्टाल्बान क्षेत्रमा रहेको बताइएको छ।

बुधबार आएको मुख्य भूकम्पपछि हालसम्म २० भन्दा बढी परकम्प ९आफ्टरशक० रेकर्ड गरिएका छन्। राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले यसबारे जानकारी दिएको हो।

सबैभन्दा बढी प्रभावित क्षेत्रहरू देशका उत्तरी तटीय प्रदेशहरू रहेका छन्, जसमा ला गुआइरा, अरागुआ, काराबोबो र फाल्कोन समावेश छन्।

सडकमा निस्किए नागरिक

भूकम्पपछि सार्वजनिक भएका तस्बिरहरूमा राजधानी काराकासका सडकहरूमा ठूलो संख्यामा मानिसहरू जम्मा भएको देखिएको छ। तीव्र कम्पनका कारण धेरै नागरिक घरबाहिर निस्किन बाध्य भएका थिए भने विद्युत् आपूर्ति पनि अवरुद्ध भएको थियो।

कतिपय मानिस आफ्ना परिवारका सदस्य तथा घरपालुवा जनावरलाई अँगालो हालेर सुरक्षित स्थानमा बसेका देखिएका छन्। यसैबीच उद्धारकर्मीहरू भग्नावशेषमा फसेका मानिसहरूको खोजी तथा उद्धारमा निरन्तर खटिएका छन्।

देशभर प्रभाव

भूकम्पको प्रभाव भेनेजुएलाका अन्य धेरै प्रदेशहरूमा पनि महसुस गरिएको छ।

गृहमन्त्री डियोसदादो काबेलोले सरकारी टेलिभिजनसँग कुरा गर्दै त्रुजिलो, याराकुई, काराबोबो, अरागुआ, मिरान्डा, काराकास तथा ला गुआइरामा शक्तिशाली झट्का महसुस गरिएको बताएका छन्।

उनका अनुसार काराकासका लस पालोस ग्रान्डेस र अल्तामिरा क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका छन्।

अन्तर्राष्ट्रिय विमानस्थल बन्द

राष्ट्रपति रोड्रिगेजका अनुसार भूकम्पबाट भएको गम्भीर क्षतिका कारण देशको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ।

प्रारम्भिक भिडियोहरूमा यात्रुहरू विमानस्थलका गल्लीहरूबाट भाग्दै गरेको तथा कम्पनका बेला छतबाट ठूलो मात्रामा धुलो खसिरहेको देखिएको छ।

धेरै भवनहरू भत्किएका छन् भने केहीमा गम्भीर चिरा परेको छ। परकम्पको त्रासका कारण हजारौँ मानिस अझै पनि आफ्ना घर वा अपार्टमेन्टमा फर्किएका छैनन्।

कोलम्बियासम्म महसुस

भूकम्पका झट्काहरू छिमेकी देश कोलम्बियाको राजधानी बोगोटासम्म महसुस गरिएको थियो।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा भवनहरूमा गम्भीर क्षति पुगेको, कतिपय भवनहरू पूर्ण रूपमा ढलेको तथा सडकहरूमा मानिसहरूको भीड लागेको देख्न सकिन्छ।

उद्धार तथा क्षतिको मूल्याङ्कन कार्य जारी रहेकाले वास्तविक जनधनको क्षतिको पूर्ण विवरण अझै सार्वजनिक हुन सकेको छैन।