Bagmati Samachar Logo

विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

काठमाडौं । विद्यार्थी संगठनमाथि प्रतिबन्ध गर्ने सरकारी घोषणाको विरोधमा काठमाडौँमा कालो बेलुन उडाएर प्रदर्शन गरिएको छ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले संयुक्त रूपमा राजधानीमा विरोध प्रदर्शन गरेका हुन्। विद्यार्थी नेताहरूले विद्यार्थी संगठनमाथिको प्रतिबन्धलाई अलोकतान्त्रिक र दमनकारी कदम भनेका छन्।

शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थीलाई हिरासतमा लिएको घटनाप्रति पनि संगठनहरुले आपत्ति जनाएका छन्।

‘सरकारले विद्यार्थी संगठनमाथि प्रतिबन्धको घोषणा जुन पञ्चायतमा समेत भएन, त्यसका विरुद्ध नेपाल विद्यार्थी संघका केही साथिहरूले हिजो शान्तिपूर्ण आन्दोलन गर्दा हिरासतमा राखेको छ। त्यसका विरुद्ध नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले संयुक्त आन्दोलन सुरु गरेको छ ।

सरकारले संगठनमाथि प्रतिबन्ध गर्ने घोषणा फिर्ता नलिए देशभर सशक्त आन्दोलन गर्ने उनले चेतावनी दिए। मंगलबार सिंहदरबारमा प्रदर्शन गरेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको थियो।

सरकारले माफियालाई संरक्षण गरेको पनि संगठनहरुले आरोप लगायका छन् ।