Bagmati Samachar Logo

विज्ञप्ती जारी गरेर पूर्णबहादुरले छोडे कार्यवाहक सभापतिको हैसियत

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पहिलोपटक निवर्तमान कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका छन् । उनले मंगलबार जारी गरेको विज्ञप्तिमा विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थी युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्ध आपत्ति जनाएका छन् । कांग्रेसको आधिकारिकताको रिट सर्वोच्चले खारेज गरिदिएपछि खड्काले कार्यवाहक सभापतिको दाबी छाडेका हुन् ।

विद्यार्थी संगठन नेपालको गौरवशाली राजनीतिक इतिहासका मेरुदण्ड रहेको खड्काले बताएका छन् । स्वतन्त्र विद्यार्थी युनियनकै जगमा मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था हासिल गरेको र नेपाली जनताले उच्चतम नागरिक स्वतन्त्रता उपभोग गरिरहेको खड्काले उल्लेख गरेका छन् ।

‘निर्दलीय निरंकुश पञ्चायती व्यवस्थाको अन्धकारमय कालखण्डमा जब राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाइएको थियो । त्यति बेला राजनैतिक विचारका आधारमा संगठित विद्यार्थी संघ संगठनहरूले नै लोकतन्त्रको मशाललाई प्रज्वलित राख्दै जनतामा चेतना भर्ने र अधिनायकवाद विरुद्ध विद्रोहको शंखघोष गर्ने साहसिक अभियानको नेतृत्व गरेको कुरा इतिहास साक्षी छ,’ खड्काको विज्ञप्तिमा भनिएको छ ।

अहिले वालेन्द्र शाह बालेन नेतृत्वको सरकारबाट लोकतन्त्रको नर्सरी मानिने विद्यार्थी संघ संगठन र स्ववियुको अस्तित्वमाथि प्रहार गरी खारेज गर्ने निर्णय हुनु सरकारको अधिनायकवादी कदमका रूपमा बुझ्न बाध्य भएको खड्काले बताएका छन् ।