Bagmati Samachar Logo

श्रममन्त्री हटाउने प्रधानमन्त्रीको तयारी, आफ्नो पक्षकालाई आजै नियुक्त गर्न सक्ने

काठमाडौं । प्रधानमन्त्रीले वालेन्द्र शाहले श्रममन्त्री दीपककुमार साहलाई हटाउने तयारी सूरु गरेका छन् । विभिन्न विवादमा मुछिएका साहको विगत पनि विवादित पृष्ठभूमिको रहेको र केही दिन पहिला आफ्नो श्रीमतिलाई स्वास्थ्य विमा बोर्डमा नियुक्ति दिएको विषय पनि विवादमा आएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई मन्त्रीमा पठाउँदा जुनसुकै बेला फिर्ता बोलाउन सक्ने भनेको थियो ।

साह १३ चैतमा मन्त्रीमा नियुक्त भएका थिए । महोत्तरी–२ बाट निर्वाचित उनी लन्डन स्कुल अफ इकोनोमिक्सबाट अध्ययन गरेर आएका हुन् । डा. स्वर्णिम वाग्लेनिकट उनलाई श्रम मन्त्रालयको जिम्मेवारी दिइएको थियो । छोटो अवधिमा केही लोकप्रिय काम गर्न खोजे पनि अन्ततः प्रधानमन्त्री शाहले श्रम मन्त्रालयमा अर्को व्यक्ति ल्याउने सोच बनाएको उनको सचिवालयका एक अधिकारीले जानकारी दिएका छन् । तर, निर्णय भने भइसकेको छैन ।

‘सम्भवतः आजै (बिहीबार) नयाँ श्रममन्त्री ल्याउने तयारी भइरहेको छ ।

रास्वपा स्रोतका अनुसार शाहले आफ्नो पक्षबाट श्रममन्त्री राख्ने बुझिएको छ भने उद्योगमा पार्टी सभापति रवि लामिछानेलाई नाम दिन भनेका छन् । शाहको पक्षबाट श्रममन्त्रीमा चार जनाको नाम चर्चामा छ । जसमा धनुषा ४ का राजकिशोर महतो, रौतहट ३ का रवीन्द्र पटेल, सप्तरी ४ का सीताराम शाह रहेका छन् । त्यसो त समानुपातिक निर्वाचित खगेन्द्र कर्णको नाम पनि श्रममन्त्रीको रूपमा चर्चामा आएको बुझिएको छ । पेसाले इन्जिनियर सप्तरीका कर्ण नेपाली कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरेका थिए ।