प्रधानमन्त्रीले फेसबुकमा सम्बोधन गरेर १ लाख ६ हजार कमाएको मिराज ढुंगानाको दाबी
काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रको लागि सम्बोधन गरिएको भिडियो आफ्नो निजी पैसा आउने फेसबुक अकाउन्टबाट अपलोड गरेर पैसा कमाएको बताएका छन् । ढुङगानालेले उक्त सम्बोधन बाट प्रधानमन्त्रीले ७ सय डलर कमाएको पनि दाबी गरेका छन् । प्रधानमन्त्रीले राष्ट्रको लागि गरेको सम्बोधन, निजी फेसबुकमा राख्दा ७ सय डलर अथवा १ लाख ६ हजार नेपाली रुपैयाँ कमाएको भन्दै आपत्ति जनाएका छन् । केही दिनअघि प्रधानमन्त्रीले राष्ट्रका नाममा फेसबुकबाट सम्वोधन गरेर ७ सय डलर कमाएको उनको दाबी छ ।
आज एक कार्यक्रममा बोल्दै ढुंगानालाई राष्ट्रका नाममा सम्बोधन गर्दा सरकारको आधिकारिक सञ्चारमाध्यम मात्र प्रयोग गर्न सुझाव दिए ।
फेसबुकबाट सम्बोधन गर्नुले प्रधानमन्त्री पदकै गरिमा हलुका बनेको उनले टिप्पणी गरेका छन् ।
ढुंगानाको अभिव्यक्ति जस्ताको तस्तैः
प्रधानमन्त्रीज्यूले राष्ट्रको लागि सम्बोधन गरिएको भिडियोबाट ७ सय डलर कमाउनुभएछ । प्रधानमन्त्रीले राष्ट्रको लागि गरेको सम्बोधन, जुन उहाँले आफ्नो निजी पैसा आउने फेसबुक अकाउन्टबाट अपलोड गर्नुभयो, त्यसबाट प्रधानमन्त्रीले ७ सय डलर मतलब कि १ लाख ६ हजार रुपैयाँ कमाउनुभयो ।
यो देशको प्रधानमन्त्री, यो देशको सबभन्दा गरिमामय, मर्यादित पदको मान्छेले सायद जुन प्लेटफर्मको कारण यो देशमा आन्दोलन भयो, त्यही फेसबुक प्लेटफर्म, जसले यहाँ अझैसम्म दर्ता पनि गरेको छैन राम्ररी, त्यसैमा भिडियो हाल्नुभयो । त्यस मार्फत उहाँले १ लाख ६ हजार आम्दानी गर्नुभएछ भने हाम्रो देशको प्रधानमन्त्रीको पद कति हलुका भएको हो ?
हाम्रो देशको प्रधानमन्त्रीको सम्बोधन कुनै पीएमओ न्यूज अथवा हाम्रो देशको राष्ट्रिय मिडियाबाट होइन कि फेसबुकबाट आउँछ भने यो कति लज्जास्पद कुरा हो ? भोलिदेखि प्रधानमन्त्रीलाई गन्न छोड्दिन्छन् यदि फेसबुकबाट नै उहाँको आधिकारिक वक्तव्य आउने हो भने । भोलिपल्टदेखि सायद ‘फेसबुके प्रधानमन्त्री’ पनि भन्न थाल्लान् ।
यो देशको यो पदको गरिमामय पदको मर्यादा बचाउनलाई तपाईं ध्यान दिनुस् । यस्तो सम्बोधन राष्ट्रिय संचारबाट प्रसारण गर्ने हो । राष्ट्रको लागि सम्बोधन गर्दाखेरि डलर कमाउनु भनेको राम्रो कुरा होइन । यो मर्यादित कुरा होइन । तपाईं प्रधानमन्त्री हुनुहुन्छ, तपाईं कुनै कन्टेन्ट क्रिएटर अथवा फेसबुकको सेलिब्रेटी होइन ।
तपाईंको सम्बोधन राष्ट्रको आधिकारिक संचारबाट आओस्, तपाईंको मनिटाइज्ड फेसबुकबाट कृपा गरेर नआओस् ।

प्रतिक्रिया दिनुहोस्: