Bagmati Samachar Logo

सरकारले प्रतिशोध राखेर थुन्यो, मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भए : ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि आफू रिहा भएको बताएका छन् ।

ओलीले आफ्नो रिहाइको लागि आवाज उठाउने सबै र सर्वोच्च अदालतलाई सम्मान व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरु, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु। साथै, परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु।’

प्रहरी नियन्त्रणमा रहँदा आफूलाई मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र स्वास्थ्योपचारमा खटेका त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि म कृतज्ञता व्यक्त गरेका छन् ।

ओलीले आफ्नो रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएकाको उपचार खर्च राज्यले बेहोर्नु पर्ने हुँदा पनि राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने जानकारी गराएका छन् ।

प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर उपचार गराउने उनले जानकारी गराएका छन् ।