तीन शक्तिशाली मन्त्रालय,सभामुखदेखि प्रमुख सचेतकसम्म रवि र बालेनपक्षको रस्साकस्सी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकार बनाउने तयारीबीच भागबण्डाको चर्चा पनि चलिरहेको छ । रास्वपाले १२ चैतमा बालेन साहलाई संसदीय दलको नेता चयन गरी १३ चैतमा प्रधानमन्त्रीको शपथ गराउने तयारी गरेको छ । बालेनको मन्त्रीपरिषद कति जनाको हुने छ त्यो टुङ्गो लागेको छैन । तर मन्त्री हुनेहरुको लबिङ पार्टी भित्र तिब्ररुपमा चलेको छ ।
रास्वपा स्रोतका अनुसार सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्रालयहरूको भागवण्डा कसरी गर्ने भन्ने विषयमा सहमति भइसकेको छैन । प्रधानमन्त्री पछि महत्वपूर्ण मानिने गृह मन्त्रालय, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयमा लामिछा पक्षकाहरुले दाबी नछोडेपछि बालेन अफ्ठेरोमा परेका छन् ।
गृह मन्त्रीमा डीपी अर्याल, अर्थमन्त्रीमा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्रीमा शिशिर खनालको नाममा रविले अडान राख्दै आएका स्रोतले बताए । उता बालेनले भने गृहमन्त्री आफूले रोजेको व्यक्तिलाई बनाउन पाउनुपर्ने अडान लिएका छन् । रास्वपा स्रोतले भन्यो, ‘तीनवटै शक्तिशाली मन्त्रालय सभापति लामिछानेनिकटलाई दिन सकिँदैन, गृह मन्त्रालय प्रधानमन्त्रीनिकटको हुनुपर्ने बालेन शाहको तर्क छ ।’
तर, अहिलेसम्म सहमति भने जुटेको छैन । यता, परराष्ट्र मन्त्रालयमा पनि खनालको साथै अमरेशकुमार सिंहले पनि दाबी गरेका छन् ।
रास्वपामा अहिले मन्त्रालयको साथै सभामुखको विषय पनि छलफल भइरहेको छ । रास्वपा भित्र अहिलेसम्म सभामुखमा चार जनाको नाम चर्चामा छ ।
पूर्वउपसभामुख इन्दिरा रानाको नाम चर्चामा आए पनि उनको नाममा दह्रो अडान भने देखिएको छैन । तर, सोविता गौतम र डीपी अर्यालको नाम भने केही बढी आइरहेको छ । रास्वपा स्रोतका अनुसार सुलभ खरेललाई कानुनमन्त्री बनाएर गौतमलाई सभामुख बनाउन सकिने विषयमा छलफल भइरहेको छ ।
अर्काथरिले भने अर्याललाई लैजानुपर्ने तर्क पनि रास्वपाभित्र भइरहेको छ । तर, उनको अडान गृह मन्त्रालयमा भएका कारण उनी सभामुखमा भने जाने सम्भावना कम रहेको स्रोतको दाबी छ । यता, बालेनको समूहबाट सभामुखमा जगदीश खरेलको नाम पनि चर्चामा ल्याइएको छ ।
यता, संसदीय दलको नेता शाह हुने भएकोले उपनेता डीपी अर्याल र प्रमुख सचेतक महामन्त्री कविन्द्र बुर्लाकोटी हुने सम्भावना रहेको रास्वपा नेताहरूबीच चर्चा छ । रास्वपाले केही मन्त्रालयले गाँभेर १५ वटा बनाउने तयारी गरेको चर्चा पनि राजनीति वृतमा चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्: