Bagmati Samachar Logo

आफैलाई भोट हाल्न नपाउने नेताहरुमा प्रचण्ड–ओली,गगन–रवि,, बालेन देखि विनोद चौधरीसम्म

काठमाडौं । प्रतिनिधिसभाको चुनावमा प्रमुख पार्टीका शीर्ष नेताहरूले नै आफूलाई मतदान गर्न पाउने छैनन् । भोलि हुने चुनावमा उम्मेदवार बनेका पार्टीका प्रमुख नेताहरू आफ्नो चुनाव क्षेत्रबाट नभएर अन्य क्षेत्रबाट उम्मेदवार बनेका छन् । आफ्नो मतदाता नामावली भएको क्षेत्रबाट उम्मेदवार नहुँदा उनीहरूले आफूलाई मतदान गर्न पाउने छैनन् ।

प्रतिनिधिसभा चुनावमा १६५ निर्वाचन क्षेत्रमध्ये जुनसुकै क्षेत्रबाट उम्मेदवार हुन पाउने व्यवस्था छ । त्यहीअनुसार नेताहरूले आफ्नो मतदाता भएको क्षेत्र छोडेर अर्को क्षेत्रमा पनि उम्मेदारी दिएका छन् । यसरी चुनावमा आफूले आफैँलाई मत दिन नपाउनेमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड पनि छन् ।

प्रचण्डको मतदाता नामावली भरतपुर महानगरपालिका– १४ मा छ । उनको नामावली चितवन क्षेत्र नं। ३ मा पर्छ । उनले यही क्षेत्रमा मतदान गर्नेछन् । तर, उनले उम्मेदवारी पूर्वीरुकुमबाट दिएका छन् । प्रचण्डले २०७४ बाहेक अहिलेसम्म आफूले आफैँलाई मत दिएका छैनन् । २०६४ मा रोल्पा– १ र काठमाडौं– १० बाट उम्मेदवार बनेका थिए । यो चुनावमा दुवै क्षेत्रबाट जितेका थिए । २०७० मा काठमाडौं– १० र सर्लाही– ५ बाट उम्मेदवार बनेर जितेका थिए । २०७९ सालमा गोरखा– २ बाट जितेका थिए ।

नेकपाका नेता नारायणकाजी श्रेष्ठले पनि आफूले आफैँलाई मत दिन पाउने छैनन् । उनको मतदाता नामावली गोरखाको सिरानचोक गाउँपालिकास्थित जौबारीमा छ । तर, उम्मेदवार सर्लाहीको क्षेत्र नं। ३ मा दिएका छन् । उनले पनि मत दिन सर्लाहीबाट गोरखा आउनुपर्नेछ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आफूले आफैँलाई मतदान गर्न पाउने छैनन् । ओलीको मतदाता नामावली भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटमा छ । यो पालिका भक्तपुर– २ मा पर्छ । ओली झापा ५ बाट उम्मेदवार बनेका छन् ।

सर्लाही– ४ बाट उम्मेदवार बनेका कांग्रेस सभापति गगनकुमार थापाले पनि आफैँलाई मतदान गर्न पाउँदैनन् । उनको मतदाता नामावली काठमाडौं महानगरपालिका मैतीदेवीमा छ । थापा सर्लाही– ४ बाट उम्मेदवार बनेकाले उनले मतदान गर्न पाउने छैनन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पनि आफूलाई आफैँले मतदान गर्न पाउने छैनन् । उनको पनि मतदाता नामावली काठमाडौं– ३ मा छ । तर, उनले उम्मेदवारी चितवन– २ बाट दिएका छन् । अघिल्लो चुनावमा पनि त्यही क्षेत्रबाट उनले जितेका थिए । उनको नागरिकता विवादका कारण उपचुनाव हुँदा पनि उनले त्यही क्षेत्रबाट उम्मेदवारी दिएर जितेका थिए ।

केही समयपहिला मात्र रास्वपामा गएका बालेन्द्र शाह (बालेन) ले पनि आफूले आफैँलाई मत दिन पाउने छैनन् । उनको मतदाता नामावली काठमाडौं– २ मा छ । तर, उनले उम्मेदवारी झापा– ५ बाट दिएका छन् ।

कांग्रेस महामन्त्री प्रदीप पौडेलले पनि आफैँलाई मत दिन पाउने छैनन् । उनले काठमाडौं– ५ बाट उम्मेदवारी दिएका छन् । तर, उनको मतदाता नामावली तनहुँ– २ मा छ । पौडेलले २०७९ सालको प्रतिनिधिसभाको चुनाव काठमाडौं– ५ बाट जितेका थिए । २०७४ सालमा तनहुँमा प्रदेससभाको चुनावमा उनी पराजित भएका थिए ।

रास्वपाका अर्का नेता स्वर्णिम वाग्लेले पनि आफैँले आफूलाई मत दिन पाउने छैनन् । उनी तनहुँ– १ बाट उम्मेदवार बनेका छन् । तर, उनको मतदाता नामावली काठमाडौंमा छ । अघिल्लोपटक उपनिर्वाचनमा उनी तनहुँ– १ बाट जितेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पनि आफैँले आफूलाई मत दिन पाउने छैनन् । मिश्र काठमाडौं– १ बाट उम्मेदवार बन्दै आएका छन् । योपटक पनि उनी यही क्षेत्रबाट उम्मेदवार बनेका छन् । तर, उनको मतदाता नामावली भने ललितपुरमा रहेको छ ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि आफैँले आफूलाई मत दिन पाउने छैनन् । उनको मतदाता नामावली मोरङमा छ । उनले प्रतिनिधिसभाको चुनावमा सप्तरी– ३ बाट उम्मेदवारी दिएका छन् । उनले पनि आफूले आफूलाई मत दिनबाट बञ्चित हुनुपर्नेछ ।

प्रेम आलेले पनि आफैँले आफूलाई मत दिन पाउने छैनन् । उनको मतदाता नामावली डोटीमा छ । तर, उनी यो चुनावमा कैलाली– ५ बाट नेकपाको तर्फबाट उम्मेदवार बनेका छन् ।

नेकपाका नेता देवेन्द्र पौडेलले पनि आफैँले आफूलाई मत दिन पाउने छैनन् । उनको मतदाता नामावली बागलुङमा छ । उनले उम्मेदवारी नवलपरासी बर्दघाट सुस्ता पश्चिमबाट दिएका छन् । अघिल्लोपटक बागलुङबाट जितेका पौडेल योपटक नवलपरासीबाट उम्मेदवार बनेका छन् ।

कांग्रेसका नेता विनोद चौधरीले पनि आफैँले आफूलाई मत दिन पाउने छैनन् । उनको मतदाता नामावली नवलपुरको देवचुली नगरपालिकामा छ । उनले नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नं। १ बाट उम्मेदवारी दिएका छन् ।