सुदूरपश्चिम प्रदेशसभामा नेकपाको संसदीय दल नेतामा खगराज चयन
काठमाडौं । सुदूरपश्चिम प्रदेशसभामा साविकको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीबीच समायोजन भई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दल गठन गरिएको छ ।
तीनवटै दलको आज बसेको संयुक्त बैठकले दल एकीकरण गर्ने निर्णय गरेको साविक एकीकृत समाजवादीका प्रदेशसभा सदस्य माया पन्तले जानकारी दिए । उनले भने, ‘समायोजनबारे केन्द्रबाट निर्णय भएर आएको हो, सोहीबमोजिम आज कार्यान्वयन गरिएको हो ।’
बैठकले साविक माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टलाई नै नेकपा संसदीय दलको नेताका रूपमा चयन गर्ने निर्णय गरेको छ । दल एकीकरणपछि नेकपाको विधान निर्माणका लागि विधान मस्यौदा समिति गठन गरिएको छ ।
त्रिपन्न सदस्यीय प्रदेशसभामा साविक माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका सात र एकीकृत समाजवादीका चार सदस्य छन् । समाजवादीका एक सदस्य भने निलम्बनमा छन् ।
सत्तापक्ष कांग्रेसका १८ र नेकपा एमालेबाट ११ सदस्य छन् । राप्रपाबाट एक सदस्य छन् । स्वतन्त्र सदस्य डा तारा जोशीले पदबाट राजीनामा दिएर डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्: