Bagmati Samachar Logo

एमालेलाई प्रचण्डको आह्वान आउनोस् एकताबद्ध बनौँ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश अझै संकटमा रहेको भन्दै दुर्घटना अझै टरिनसकेको बताएका छन्।
एमाले ओखलढुङ्गाका जिल्ला कमिटीका नेताहरूलाई नेकपामा समाहित गराउदै उक्त कुरा बताएका हुन् । उनले अझै संकट नटरेकाले अरूको मुख ताकेर नहुने मिलेर जानुको विकल्प नभएको बताए।

उनले भने, ‘दुर्घटना अझै टरिसक्यो भन्ने पनि छैन। बलियो राष्ट्रिय शक्ति निर्माण गर्न सकिएन भने फेरि पनि दुर्घटना हुनसक्छ। देशलाई फेरि अर्को खाल्टोमा जान नदिन हामीले जिम्मेवारी लिएका छौँ। त्यसैले वामपन्थी, कम्युनिस्ट र राष्ट्रवादी शक्तिहरूलाई एकैठाउँमा ल्याएका छौँ।’

उनले लाखौँ जनता नेकपामा समाहित भइसकेको जिकिर गरे। जेनजी पुस्ताले पनि आफ्नो एजेन्डा पूरा गर्न सक्ने पार्टी नेकपा नै रहेको बुझिसकेको बताए। उनले एमालेमा रहेका देशभक्त र वामपन्थीहरू पनि नेकपामा समाहित हुने ढोका ओखलढुङ्गाले खोलिसकेको बताए।

एमालेलाई पनि कुनै भ्रममा नपरी राष्ट्र निर्माणको महाअभियानमा सहभागी हुन आह्वान गरे। उनले लोकतन्त्रवादी शक्तिहरू पनि एउटै मोर्चामा आउनुपर्ने बताए।